गौशाला नगरपालिकाका दर्जनौँ दलित समुदायका गरिव विपन्न मुसहर घरपरिवारले विश्वासको भरमा बिना कागजात जग्गा खरिद गरेको वर्षौ वित्दा पनि आफ्नो नाममा लालपुर्जा नपाएपछि चिन्तित् भएका छन् ।
गौशाला नपा–१० स्थित मुसहरवस्तीका ५५ घरपरिवारहरू वर्षौ पहिले बसोबास गर्नका लागि खरिद गरेको जग्गाको नामसारी नहुँदा उनीहरू चिन्तित भएका हुन् ।
वर्षौपहिले आफ्नो हजुरबुवालाई स्थानिय खेमराज ढकाल र व्रह्मानन्द ढकालले बसोबासका लागि केही रकम लिएर जग्गा बिक्री गरेका थिए तर अहिलेसम्म पनि सो जग्गा आफ्नो नाममा हासिल हुन नसकेको स्थानिय ६५ वर्षीय झौली सदाले बताउनु भयो ।
वृद्ध झौली सदाले भन्नु भयो–“आफुले जीवनमा अनेकौ पटक ढकाल दाजु–भाईलाई जग्गा नामसारीका लागि आग्रह गरेको प्रयास असफल भएको छ । अनेकौ पटक जग्गाको सम्बन्धमा खेमराज र व्रह्मानन्द ढकाल समक्ष आग्रह गरिएको तर कुनै सुनवाई हुन सकेको छैन ।”
स्थानिय वासोदेवी सदाले भन्नु भयो–“जग्गा कारोबार गरेको वर्षौ वितिसक्यो । कसैको हातमा लालपुर्जा छैन । जग्गा आफनो नाममा नभएकै कारण आफुहरू चाहेर पनि केही गर्न सकेका छैनौँ । बस्तीका युवाहरुलाई आयआर्जनका लागि विदेशिनु परेको छ ।”
डेढ विगहा क्षेत्रफलमा आफुहरुको ६० घरपरिवारले वसोवास गर्दै आएको समाजका अगुवा (माइजन) मुकुन्द सदाले जानकारी दिनु भयो । मुकुन्द सदाले अगाडि भन्नु भयो–“अहिलेसम्म हामीहरू विश्वासको भरमा यस जग्गामा घर बनाएर बसोबास गर्दै आएका छौँ । कहिँ कुनै किसिमको अप्ठयारो भएन, ढुक्कका साथ बस्दै आएका छौँ ।”
तर, अब आफुहरूलाई चिन्ताले सताउन थालेको समाजका माइजन मुकुन्द सदाले बताउँदै अगाडि थप्नु भयो–“अब नामसारिको प्रक्रियामा लाग्नु पर्छ । समय अनुसार मान्छेको सोचाई परिवर्तन हुने भएकोले अधिक विश्वास गर्दा पनि मान्छेलाई बेफाइदा हुन्छ । आफुहरूले यस विषयमा जानकारवालासँग छलफल गरि कदम उठाउनु पर्ने आवश्यक रहेको छ ।”
वि.सं. १९८० सालमा सिरहाबाट मजदुरी गर्नका लागि आएका मुसहर समुदायलाई स्थायी रुपमा बसोबास गर्नका लागि स्थानिय ढकाल दाजुभाईले सो जग्गा उपलब्ध गराएको स्थानिय ६५ वर्षीय प्रकाश बहादुर श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नु भयो–“जग्गा खरिद बिक्री भएको दशकौँ बितिसकेको छ । यस अवधिमा जग्गा खरिद गर्ने र बिक्री गर्ने दुबै पक्षमध्ये अधिकाँशको मृत्यु भइसकेको छ ।” अब सरकारले नै उनीहरूको समस्याको सम्बन्धमा पैरवी गर्नपर्नेे श्रेष्ठले धारणा राख्नु भयो ।
श्रेष्ठले भन्नु भयो–“यस जग्गाको सम्बन्धमा अनेकौ पटक नापी कार्यालयबाट कर्मचारी आएर सर्वे गरेर गए तर मुसहर समुदायमध्ये कसैको नाममा जग्गा नामसारी हुन सकेन ।”
मुसहर समुदाय आर्थिक रुपमा विपन्न, अशिक्षित भएकै कारण उनीहरूलाई सुलभ रुपमा विश्वास कायम गरि जग्गाधनीले वर्षौ वित्दा समेत नामसारि नगरिदिँदा मुसहर समुदायमा कसैको नाममा लालपूर्जा नरहेको स्थानिय नेता मनु अधिकारीले बताउनु भयो ।
वर्षौपहिले खिरखिरीया डाँडाले परिचित रहेको सो स्थानमा सिरहाबाट आएका मुसहरहरू जग्गा खरिद गरि वस्ती बसालिएको नेता अधिकारीले जानकारी दिनुभयो । सो जग्गा अहिले कानुन रुपमा नभएपनि स्थानियहरूले भोगचलनको आधारमा मौखिक रुपमै जग्गाको समेत कारोबार गर्दै आएका छन् ।