राजविराज नपा–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सप्तरी प्रहरीले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजबिराज नपा–६ बस्ने ५४ वर्षीय रामकुमार यादव, उनका छोराहरू २७ वर्षीय रमेशकुमार यादव, २५ वर्षीय राजेशकुमार यादव, २३ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाई ४५ वर्षीय रामअधिन यादव र निजकी पत्नी ४० वर्षीया पञ्चीदेबी यादवविरुद्ध फागुन २९ गते उजुरी दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशको पुस २३ गतेको परमादेश अटेर गरी उजुरी दर्ता नभएपछि पीडितले प्रहरीबाट अदालतको अपहेलना भएको भन्दै फागुन ११ गते उजुरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालयले कथित बोक्सी भन्दै कुटपिट गर्ने आरोपितमाथि उजुरी दर्ता गरेको अधिवक्ता शंकरकुमार मिश्रले बताउनु भयो ।
आरोपितहरुले ०७६ कात्तिक ११ गते घरकोठाभित्र प्रवेश गरी ‘आफ्नो पति पनि खायो र मेरो पत्नी पनि खायो’ भन्दै आफू र छोरीहरूलाई कुटपिट गरेको र कात्तिक १३ गते ‘बोक्सी कता छ’ भन्दै घरभित्र प्रवेश गरेर रक्ताम्य हुने गरी कुटपिट गरेको पीडितले बताउनु भयो । भिडिओ रेकर्ड, घाउँ जाँच प्रतिवेदन, जिल्ला सरकारी वकिल कार्यालयको पत्रसहित प्रत्यक्षदर्शी छिमेकीहरू लिएर जिल्ला प्रहरी कार्यालय गए पनि उजुरी दर्ता नगरेपछि परमादेशको रिट दिएकोे पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाइले बोटविरुवा उखेलिएको विषयमा दुबै तर्फबाट गालीगलौज, कुटपिट भएकाले दुबै पक्षबाट उजुरी आएको र कथित बोक्सीको आरोपसहितको उजुरी सत्य नभएकाले दर्ता गर्न नसकिने बताउँदै आएका थिए । अदालतको परमादेशपछि उजुरी दर्ता गरिएको जानकारी दिनुहुँदै एसपी प्रसाईले आरोपितहरु गिरफ्तार हुन नसकेको बताउनु भयो ।