२७ वर्षीया महिलालाई कारमा लिफ्ट दिने बहानामा अज्ञात स्थलमा लगेर बलात्कार गरेको आरोपमा पीडितद्धारा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गराइएको छ ।
काठमाडौँ महानगरपालिका–६ को घरबाट ललितपुर जिल्लाको बाग्मती गाउँपालिका–७ स्थित माइती जान लाग्दा ०७६ फागुन २४ गते सातदोबाटो चोकबाट चापागाउँसम्म छाेडिदिने बहानामा कारमा लिफ्ट दिएर बलात्कार गरेको पीडितले बताउनु भयो ।
आरोपितले पीडितलाई कारमा राखेर अज्ञातस्थलको घरमा लगेर बलात्कार गरेको र घटनापछि भागेर सातदोबाटो आइपुगेको पीडितको उजुरीमा उल्लेख छ । पीडितको उजुरीका आधारमा आरोपित र सवारी साधन खोज्ने क्रममा सवारी नम्बरको पहिचान गरी फागुन २७ गते विस्तृत जानकारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ललितपुरमा पत्राचार गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका निमित्त कार्यालय प्रमुख इन्सपेक्टर रमेशकुमार श्रेष्ठले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २४ गते पाटन अस्पतालमा गरिएको अस्पतालका चिकित्सक डा.सिताराम श्रेष्ठले बताउनु भयो ।