INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या आरोपमा किटानी दर्ता भएको दुई वर्षसम्म अनुसन्धान नभएको पीडित पक्षको आरोप

चन्दननाथ नपा–२ खोलीकोट गाउँकी रिता बुढ्थापा फागुन २५ गते ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन रुँदै जिल्ला प्रहरी कार्यालयमा डिएसपी लालबहादुर धामीको कार्यकक्षमा पुग्नुभयो । उहाँले भन्नुभयो भाइको हत्या भएको दुई वर्ष बढी भयो ।

हत्या आरोपित विरुद्ध किटानी दर्ता गर्दा समेत दुई÷दुई वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी नबढाएको उहाँले डिएसपी धामी समक्ष गुनासो गर्नुभयो ।

छोरी रिता बुढ्थापा प्रहरी कहाँ पुगेको थाहा पाएपछि जिन्दगीको उत्रार्धमा पुगेका ७६ वर्षीय मृतकका वुवा तत्कालीन बामपन्थी नेता रामकृष्ण बुढ्थापा पनि जिल्ला प्रहरी कार्यालयमा पुग्नुभयो । उहाँले पनि छोराको हत्यारा माथि अनुसन्धान गरी पीडितलाई न्याय दिन आग्रह गर्नुभयो ।

चन्दननाथ नपा–२ खोलीकोट निवासी तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा ०७४ साउन २० गते मृत अवस्थामा फेला परेका थिए । साउन २० गते विहान चन्दननाथ नपा–५ जुगाडखोला नजिकै उहाँको शव भेटिएको थियो ।

मृतकको टाउकोमा धारिलो हतियारले चोट लागेको अवस्थामा शव भेटिएको थियो । मृतक बुढथापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग गरेका थिए । तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाले घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको माग गरेको थियो । पार्टीका जिल्ला संयोजक नरेन्द्रनाथ योगीद्वारा ०७४ साउन २१ गते जारी विज्ञप्तिमा उक्त माग गरेका थिए । मृत अवस्थामा फेला परेका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टर्माटम गरिएको थियो ।

घटनामा संलग्न भएको आशंकमा आरोपित चन्दननाथ नपा–६ का सनलाइट होटलका मालिक २९ वर्षीय खड्गजित रोकाया र सोही वडाका ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुवै जना हाल पुर्पक्षका लागि कारागारमा छन् । घटना सम्बन्धमा जिल्ला अदालत जुम्लाले हालसम्म फैसला गरेको छैन ।

घटनाका आरोपित आठ जना मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी अदालतमा मुद्दा पेश गरे पनि दोस्रो पटक ०७४ भदौ १२ गते मृतकका बुबा रामकृष्ण बुढ्थापाले जिल्ला सरकारी वकिल जुम्लामा पुरक जाहेरीका रुपमा आरोपित विरुद्ध किटानी उजुरी दर्ता गर्नु भएको थियो ।

तत्कालिन जिल्ला प्रहरी कार्यालय, जुम्लामा कार्यरत तत्कालिन सुनिकोट गाविस–७ बझाङका ३५ वर्षीय भीमबहादुर बोहोरा, श्रीनगर हुम्ला घर भई चन्दननाथ नपा– ९ बयालकाटियाका २२ वर्षीय खगेन्द्र बुमी, भञ्जाङ खर्क–६ काभ्रेपलान्चोक स्थायी घर भई चन्दननाथ नपा– ५ स्थित सनलाईट होटलका कुक (भान्से) २९ वर्षीय वीरबहादुर तामाङ, गुठीचौर गाउँपालिका–२ जुम्लाका २८ वर्षीय राम बोहोरा, सोही वडाका १७ वर्षीय विनोद गिरी, तातोपानी गाउँपालिका–१ जुम्लाका १६ वर्षीय रविन्द्र बडुवालको नाममा किटानी जाहेरी दर्ता गरिएको पीडित रामकृष्ण बुढ्थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो हत्या आरोपमा किटानी जाहेरी दर्ता गर्दासमेत प्रहरीले घटनामाथि अनुसन्धान गरेको छैन ।

उक्त घटनाका विषयमा वकालत गर्दै आएका अधिवक्ता नरेन्द्रनाथ योगीका अनुसार प्रहरीकै संलग्नतामा हत्या भएको देखिन्छ । तर प्रहरीले अनुसन्धान अगाडी बढाएको पाइदैन । उहाँले भन्नुभयो यसले गर्दा पीडित पक्षलाई न्याय भन्दा पनि पीडा थपेको र आरोपितलाई उन्मुक्ति दिन खोजेको अनुभुति भएको छ । यस घटनाका विषयमा केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेको हो तर घटना भएको दुई बर्षसम्म अनुसन्धान प्रतिबेदन सर्वजनिक नगरेको उहाँले बताउनुभयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घटना अनुसन्धानमा ९० प्रतिशतसम्म पुगेको दुई बर्षअघि भनेका हुन् तर पनि आरोपित माथि कारवाही हुन नसकेको उहाँको भनाई छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका दुवै जनाले आफु निर्दाेष रहेको दाबी गर्दै आएका छन् ।

डिएसपी लालबहादुर धामीले घटनाको फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताउनुभयो । उहाँले भन्नुभयो घटना हुँदा हामी थिएनौँ । घटना के कति कारणले भएको हो फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडी बढाउने भन्दै पीडित पक्षलाई सम्झाई पठाएको उहाँले बताउनुभयो ।

20200309_Jumla
20200309_Jumla

20180830_124533

अन्य

भिडियो