महिनावारी भएको समयमा महिला तथा किशोरी बस्न बनाइएका छाउगोठ भत्काएसँगै सदरमुकामस्थित मंगलसेन नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गरिएको छ ।
नगरमा रहेका ५ सय ६४ छाउगोठ भत्काएर महिनावारीका बेला सबै महिला र किशोरीहरू सुरक्षित रूपमै घरमा बस्न थालेको भन्दै फागुन २५ गते एक कार्यक्रमको आयोजना गरी छाउगोठ मुक्त नगर घोषणा गरिएको हो ।
नगर क्षेत्रका विभिन्न वडामा रहेका १ सय १५ छाउगोठ घर धनीले नै भत्काएका र ४ सय ४९ छाउगोठ प्रहरी,जनप्रतिनिधि र स्थानीय अगुवाको सयुक्त पहलमा भत्काइएको नगर प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।
सामाजिक कुसंस्कारका रूपमा रहेको छाउपडी कुप्रथा अगालेमा कानुनी कार्वाहीसँगै नगरबाट दिइने सेवा रोक्का गर्ने नगरपालिका नगर प्रमुख बोहराको भनाइ छ ।
नगरमा रहेका १४ वडा मध्येमा सबैभन्दा बढी वडा नम्बर १ कुन्ती र १३ वस्तीमा ७७/७७ छाउगोठ र सबैभन्दा कम वाडा नम्बर ६ जनालीबण्डालीमा १२ ओटा छाउगोठ भत्काइएको बताइएको छ ।
छाउपडी कुप्रथामा व्यापाक चेतना आएको भए पनि उनीहरूमा सरसफाइ, पोषणयुक्त खानाको बारेमा थप चेतना दिन आवश्यक रहेको मंगलसेन नगरपालिका–१३ का वडा अध्यक्ष प्रेमबहादुर थापाको भनाइ छ ।
छाउगोठ मुक्त नगर घोषणापछि निरन्तर अनुगमन र निरीक्षणसँगै चेतनामूलक कार्यक्रम आवश्यक रहेको मंगलसेन नगरपालिका–१२ का वडा सदस्य प्रमोद सोवको भनाइ छ ।
जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, महिला समूह, बाल तथा युवा क्लबसहितको सक्रियताले नगरका महिलालाई अकालमै मृत्यु हुनबाट बचाएको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्यायको भनाइ छ ।
नगरलाई छाउगोठ मुक्त घोषणा गर्दै अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले समाजका कुरीति र कुसंस्कारलाई समयमै अन्त्य गर्न सकेमा मात्रै सभ्य र विकशित समाज निर्माण गर्न सकिने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य बोगटीले मानवता विरोधी प्रथा र परम्परालाई अन्त्य गर्न सम्बन्धित पक्षले राज्यका कानुन पालना र कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताउनु भयो ।
गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रसँगै छाउगोठ भत्काउने अभियान शुरू भएको थियो । हालसम्म अछाम जिल्लामा झण्डै ५ हजार छाउगोठ भत्काइएको छ ।
