१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा जिल्ला अदालतले फागुन २२ गते सात जनालाई जनही नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले बालिकाको अपहरण र शरीर बन्धक बनाएको मुद्दामा संलग्न सात जनाले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै जनही ५० हजार रुपियाँ जरिबाना असुल गर्न आदेश दिएको छ ।
न्यायधीश उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै हरिनगर गाँउपालिका– ७ की २४ वर्षीया जसिरा खातुन, सोही गाँपा– ७ का सतार अन्सारी मियाँ,३० वर्षीय मुकतर अन्सारी, २३ वर्षीइ दिलसाद आलम अन्सारी, २५ वर्षीया सरातुन खातुन, २६ वर्षीया अमिना खातुन र २७ वर्षीय हफाज मियाँ जटलाई कैद सजायसँगै जरिबानाको फैसला गरेको हो ।
आरोपितहरूले ०७६ पुस १५ गते बालिकालाई घरबाटै अपहरण गरी बन्धक बनाएको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले पुस १८ गते सातै जनालाई गिरफ्तार गरी पुस २० गते जिल्ला अदालतमा अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
मुद्दाका विषयमा ११ पटक पेशी चढी कसुर गरेको ठहर गर्दै अदालतले सजायको फैसला निर्धारण गरेको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।