INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा क्षमता भन्दा चारगुणा बढी बन्दी भान्सा कोठामा सुत्नु पर्ने समस्या

जिल्ला कारागारमा क्षमता भन्दा चारगुणा बढी कैदी बन्दी रहँदा कोठाको अभावमा बन्दीहरू भान्सा कोठामा सुत्ने गरेका छन् ।

वि.सं २०५१ सालमा निर्माण भएको कारागारको क्षमता १५ जनाको रहेकोमा हाल ६० जना रहेका छन् । कारागारमा १० जना पुरुष र पाँच जना महिला राख्ने क्षमता भएकोमा हाल पुरुषतर्फ १८ जना थुनुवा र ४२ जना कैदी रहेका छन् ।

महिलातर्फ पाँच जनाको क्षमता भएकोमा हाल कारागारमा महिला बन्दी नरहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा क्षमता भन्दा कैदी बन्दी बढी हुँदा उनीहरूलाई खाना पकाउने ठाउँको अभाव, सुत्ने ठाउँको अभाव, शौचालय प्रयोग, खानेपानीको प्रयोग र नुहाउनका लागि लाइन लाग्नु पर्ने समस्या भएको छ ।

आफूहरूले कारागारका समस्या सम्बन्धमा पटक पटक माग राख्दै कारागार भित्र आन्दोलन गर्ने गरेपनि समस्या समाधान हुन नसकेको प्रेम प्रकाश वलीले गुनासो गर्नु भयो ।

कारागारमा रहेका कैदी बन्दीलाई सुत्नका लागि खाटको व्यवस्था, मनोरञ्जनका साधनको व्यवस्था हुनुपर्ने, बिरामी कैदी बन्दीको उपचार, खेलकुद सामाग्रीको व्यवस्था हुनुपर्ने भन्दै फागुन १६ गते कैदी बन्दीले माग राखेको कैदी बन्दीका नाइके जय बहादुर शाहीले जानकारी दिनु भयो ।

नाइके शाहीका अनुसार कारागारमा खानेपानी, शौचालय तथा सुत्नको लागि सारै समस्या रहेको छ ।

कारागार भित्र रहेका कैदी बन्दीले सुत्नका लागि सिमेन्टको भुईमा दुई ओटा कम्मलको साहाराले रात बिताउनु पर्ने, बिरामी हुँदा कुनै उपचारको व्यवस्था हुन नसकेको र बिहान उठेर शौचालय जान खोज्दा लाइन लाग्नुपर्ने जस्ता समस्या भोग्दै आएको प्रेम प्रकाश वलीले गुनासो गर्नु भयो ।
उचित बसोबासको व्यवस्थापनका लागि कारागारमा रहेका ओलीले सम्बन्धित सरोकारवालालाई अनुरोध गर्नु भएको छ ।

कारागारको भवन जीर्ण अवस्थामा छ । भवनका दिवाल चारैतिर चर्किएको छ । वर्षातको समयमा परेको पानी छतबाट चुहिने अवस्था छ ।

कारागारका जेलर तेज विक्रम शाहले क्षमता भन्दा बढी कैदी बन्दी भएकाले नयाँ भवन बनाउन आवश्यक पहल गरिरहेको बताउनु भयो ।

IMG_3860

अन्य

भिडियो