जिल्ला सदरमुकामस्थित तम्घास बाल मन्दिरमा फागुन २० गते बालबालिकाको पठन पाठन बन्द गरेर विवाहको भोज खुवाइएको छ । रेसुङ्गा नगरपालिका– ८ का चोपनारायण पाण्डेयका छोराको विवाहको भोजकालागि बाल मन्दिर भाडामा दिएको हो ।
५४ जना बालबालिका रहेको उक्त बाल मन्दिरमा ३० देखि ३५ जना नियमित अध्ययनका लागि आउने गरेका छन् । बालबालिकाहरूको पठन पाठनको कुनै ख्याल नगरि विवाहको भोजकालागि बालमन्दिर भाडामा दिइदै आएको छ । बाल मन्दिरका प्रधानाध्यापक भिमकुमारी श्रेष्ठले पहिलेदेखि विभिन्न कार्यक्रममा बाल मन्दिर प्रयोग भएकाले अहिले पनि भाडामा दिएको बताउनु भयो । बाल मन्दिरको व्यावस्थापन गरिरहेको जिल्ला बाल कल्याण समितिले भोजका कारण पठन पाठन प्रभावित हुने भएकाले बालबालिका नबोलाएको बताउनु भयो । ‘समितिलाई सोधेर भाडामा दिएकी हुँ ।’ श्रेष्ठले भन्नु भयो । श्रेष्ठका अनुसार दुई वर्ष पुरा भएर चार वर्ष नपुगेका बालबालिकालाई बाल मन्दिरमा प्रत्येक वर्ष फागुन १ गते भर्ना लिने गरिएको छ । प्रति बिद्यार्थी १ हजार रूपियाँ समितिले भर्ना शुल्क लिने गरेको छ ।
उक्त बाल मन्दिर ०३२ सालमा स्थापना भएको थियो । बाल मन्दिर पहिले राजपरिवारको संरक्षकत्वमा सञ्चालनमा रहेकोमा अहिले नेपाल बाल सङ्गठन गुल्मी मार्फत सञ्चालित भएको छ । आर्थिक लाभकालागि राजनीतिक दलका सभादेखि विवाह भोजमा बाल मन्दिर प्रयोग हुदाँ बाल मन्दिरको अस्थित्व समेत संकटमा परेको छ । बाल मन्दिरमा सभा सम्मेलन सञ्चालन भएकाले बालबालिकाको भविष्य माथि वर्षौदेखि खेलवाड भइरहेको नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयले बताउनु भयो ।
पञ्चायत कालमा राजा रानी आएर बालमन्दिर हेर्ने र बस्ने तथा सङ्रक्षणको लागि आवश्यक बजेट उपलब्ध गराउने गरेको थियो । जिल्ला बाल कल्याण समितिका सचिव हरि कुमार श्रेष्ठले बाल मन्दिरको व्यवस्थापनकै लागि भाडामा दिने निर्णय धेरै पहिलेबाट गरिएको बताउनु भयो । अधिवक्ता बिनोद पाण्डेयले बाल मन्दिर पुरानो ऐतिहासिक शैक्षिक संस्था भएकाले राज्यले सङरक्षणमा ध्यान पुरयाउनु पर्ने बताउनु भयो ।
