रुपनी गाउँपालिका–३ कटैयाका १४ वर्षीय अकलेश मालीको हत्या घटनाका आरोपितहरू रुपनी गाउँपालिका–३ कटैयाका ३५ वर्षीय दिपककुमार मण्डल, ६१ वर्षीय रामप्रसाद मण्डल र उनको छोरा ४५ वर्षीय ध्रुबप्रसाद मण्डललाई प्रहरीले कानूनी कारवाही नगरेको भन्दै न्यायका लागि पहल गरिदिनु हुन अधिकारकर्मीहरूलाई मृतकका बुवा शिवनारायण मालीले फागुन १९ गते आग्रह गर्नु भएको छ ।

हत्या भएको १३ दिन बिते पनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेकोले आरोपितहरू फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट फर्कदै गर्दा मालीले गुनासो गर्नु भएको हो । मालीले आरोपितहरू विरुद्ध फागुन १० गते घटनाको प्रमाण अडियो, भिडिओ र एसएमएसको विवरण संलग्न गरेर किटानी उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको दुखेसो गर्दै न्यायका लागि पहल गर्न माग गर्दै अधिकारकर्मी, सञ्चारकर्मी र नागरिक समाजसमक्ष आग्रह गर्नु भयो ।
कक्षा आठमा अध्ययनरत अकलेश र सोही उमेरकी बालिका (नानु भनिने सोनाक्षी मण्डल) बीच ०७६ फागुन ६ गते राति १० बजे छिमेकी अनार दिदीको घर अगाडिको खाली घरमा बसेर कुराकानी भइरहेका बेला आरोपित दिपकले भेटाई दुबैको मोबाइल खोसी कुटपिट गर्दै अकलेशलाई फूलबारीतर्फ लगेको बालिकाले समेत बताएको मृतकका दाजु अरबिन्द मालीले बताउनु भयो ।

अरबिन्दले बालबालिका बीचको बोलचाल र उठबसको विषयलाई लिई आवेशमा आएका आरोपितहरूले योजना बनाई हत्या गरेर रुखमा झुण्ड्याएकोले कारवाहीको माग गर्दै किटानी उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको दुखेसो गर्नु भयो ।
बालिकासँग फोन सम्पर्क भई फागुन ६ गते राति भेट्न निस्किएका अकलेशको शव आँपको रुखमा साडीको पासो लगाई झुण्डिएको र दुबै खुट्टा भुइँमा लत्रेर दोब्रिएको अवस्थामा फागुन ७ गते बिहान फेला परेको थियो ।
शवको गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ७ गते पोष्टमार्टम भयो । जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइले उजुरी आएको तर दर्ता भई नसकेको जानकारी दिनु हुँदै पोष्टमार्टम प्रतिवेदनको अध्ययन र अन्य अनुसन्धान कार्य भइरहेको बताउनु भयो ।