इन्सेक जिल्ला प्रतिनिधि मैनामोती चाैधरीका अनुसार थरूहट थारूवान राष्ट्रिय मोर्चाका दुई जना कार्यकर्तालाई फागनु २० गते धनगढीको मुख्य बजार क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा थरूहट थारूवान महिला मोर्चाकी केन्द्रीय सदस्य धनगढी उपमहानगरपालिका – ७ की ३७ वर्षीया प्रेमा चौधरी र विद्यार्थी २८ वर्षीय यमन चौधरी रहेका छन् ।
थरूहट थारूवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहडतालका क्रममा जबरजस्ति धनगढी बजार बन्द गराइ रहेको पाइएकोले द्धय चौधरीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका इन्सपेक्टर प्रकाशसिंह कार्कीले बताउनु भयो ।
पुर्व घोषित कार्यक्रम अनुसार आमहडतालको समयमा बन्द भएको धनगढी बजारको भिडियो खिचिरहेको अवस्थामा थरूहट थारूवान महिला मोर्चाकी केन्द्रीय सदस्य ३७ वर्षीया प्रेमा चौधरी र विद्यार्थी २८ वर्षीय यमन चौधरीलाई प्रहरीले गिरफ्तार गरेको मोर्चाका जिल्ला संयोजक माधव चौधरीले बताउनु भयो ।
यसै गरी इन्सेक जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार थरूहट,थारूवान राष्ट्रिय मोर्चाले आव्हान गरेको दुई दिने तराई बन्दको पहिलो दिन फागुन २० गते कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शिक्षण संस्था, सार्वजनिक यातायात बन्द रहेका छन ।
बन्दको पुर्व सन्ध्यामा बेदकोट नगरपालिका–६ सिसैयामा मसाल जुलुश निकाल्ने क्रममा प्रहरीले आन्दोलनरत पक्षका बेदकोट नगरपालि–६ का २२ वर्षीय सञ्जय रानालाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा रहेको छ ।
सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते तराईका जिल्लाहरुमा आमहड्तालको घोषणा गरेको छ ।