गौशालास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर–टहरा भत्काइएपछि घरवारविहीन महिला, बच्चादेखि बृद्धबृद्धासम्म खुला आकाश मुनी बसेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा फागुन १८ गते उक्त घर टहरा भत्काइएको छ । वर्षाैंदेखि बस्दै आएको आफ्नो घर भत्काइएपछि खुला आकाश मुनी भोकभोकै बस्न बाध्य स्थानीयहरूमा रुवाबासी चलिरहेको छ ।

स्थानीयहरूले आफूहरू यस ठाउँमा वर्षाैंदेखि बस्दै आएको र सरकारले यसरी नसोचेको तरिकाले घर भत्काइ दिएपछि कुनै पूर्व तयारी नगरेका स्थानीयहरू घरबार बिहीन हुनुका साथै महिला, बाल–बच्चा तथा बृद्धबृद्धाहरुको विचल्ली भएको छ । आँखा अगाडी नै आफ्नो घर भत्किएको र सामान असरल्ल भएको देखेपछि कतिपय बेहास् भएर ढलेका छन् ।
यस बस्तीमा चार ओटा पक्की सहित अन्य ३० ओटा कच्ची घर तथा टहराहरु थिए । धेरै स्थानीयहरूले ऋण गरेर घर टहरा बनाएको भत्काइए पछि के गर्ने ? कहाँ बस्ने ? भन्दै रोई कराइ रहेका छन् । चुनावका बेला भोट माग्न आउने तर अहिले आफूहरुको विजोग बनाएको भन्दै पीडित स्थानीयहरू राजनीतिक दलका नेतामाथि आक्रोश पोखिरहेका छन् ।

गौशालाको नाममा रहेको १ सय ४८ विघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ४० ओटा भन्दा धेरै घर–टहराहरू भत्काइएको हो । भत्काइएका घर टहरा भएकाहरू मध्ये १५ जना पीडितहरूले कटघेरा, टहराबाट साईकल मर्मत, चिया पसल र पान पसल गरेर जिविकोपार्जन गर्दै आई रहेका थिए ।
पीडित मध्येका पान पसले ४२ वर्षीय रंगीलाल महतोले दुःख व्यक्त गर्दै भन्नुभयो–‘हामीहरूले घर बनाएका थिएनौं, मात्र पसल गर्नको लागि कटघेरा बनाएर पसल गर्दै आईरहेको थियौं । बजार ठेकदारलाई सो वापत वट्टि पनि तिर्दै आएका थियौं तर पनि पसल डोजर लगाएर भत्काइयो । हिजो देखि घर परिवार भोकै बसेका छौं ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल घर टहरा भत्काउन हेलिकप्टरबाट फागुन १८ गते महोत्तरीको गौशला आउनु भएको थियो । मन्त्री अर्यालले मिचिएका निगौल गाई गौशालाको जग्गा फिर्ता गर्ने सरकारको नीति अनुसार नै घर टहरा भत्काउन लागिएको जानकारी दिनु भयो । उहाँका अनुसार यहाँ रहेका ३० घर मध्ये तीन घर परिवार मात्रै सुकुम्बासी रहेकोे र अन्य सुकुम्बासीको नाममा हुुकुमबासीहरूले जग्गा अतिक्रमण गरेको दाबी गर्नु भएको छ । उहाँले सार्वजनिक तथा गुठीका जग्गा अतिक्रमन गर्ने अभियान काठमाडौंबाट सुरु भएको र प्रदेश २ मा भने महोत्तरीको गौशलाबाट सुरु भएको बताउनु भयो ।
फागुन १७ गते साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम सुचना जारी गरेको थियो । सुचनालाई अटेर गरे कुनै पनि समयमा संरचना भत्काउन सक्ने यसअघि दिएको ३५ दिन समयावधि फागुन १२ गते सकिएको थियो । अन्तिम अल्टिमेटम सकिए पछि यसरी घर भत्काइएला भन्ने नसोचेका स्थानीयहरूले कुनै पूर्व तयारी गरेका थिएनन् ।

स्थानीय पीडित जो चिया पसल गरेर गुजारा गर्नुहुन्छ, ५५ वर्षीया जयकल देवी रुँदै गुनासो गर्दै भन्नुभयो–‘श्रीमान् विरामी भएको समयमा घर घडेरि विक्रि गरेर जाँच गराए पनि बाँच्न सक्नु भएन, मेरो परिवारमा सात जना सदस्य रहेको र अहिले सपरिवार खुला आकाश मुनी बस्न बाध्य छौं ।’
साईकल पसल गर्दै आउनु भएको रुदल पासमानले पाँचजना परिवारको गुजारा त्यस भत्काइएको पसलबाट गरि रहेको बताउँदै भन्नु भयो–‘बाबुलाई क्यान्सर रोग लागेको समयमा एक कठ्ठा घडेरी पनि बिक्रि गरेर जाँच गराइयो तर पैसा अपुग भएको कारण बाबुलाई बचाउन सकिएन अहिले केही वर्ष अघि देखि निगौल गाई गौशालाको जग्गामा साईकल मर्मत केन्द्र खोलेर परिवारको पेट भर्दै आईरहेको भए पनि हिजो देखि घरमा रुवावासि चलेको छ । अब म के गरौ र कहाँ जाउँ ? भन्ने चिन्ताले सताईरहेको छ । हाम्रो विचल्ली भएको छ ।’ उहाँले साइकल पसल थाप्नको लागि कटघेरा राख्ने ठाउँको बन्दोबस्त मिलाई दिन नगरपालिका सँग आग्रह गर्नुभयो ।

सुकुम्बासीका घर टहरा भत्काउने क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद पुडासैनी लगायतको उपस्थिति थियो । निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन तीन ओटा डोजर प्रयोग गरिएको थियो ।
गौशाला नगरपालिकाका प्रवक्ता भोज बहादुर दर्लामी सँग कुरा राख्दा उहाँले वास्तविक सुकुम्बासी बारे नगरपालिकाले छानबिन गरेर बसोबासको बन्दोबस्त मिलाउने तयारी गरेको बताउनु भयो । उहाँले त्यस्ता किसिमका सुकुम्बासीहरूलाई नगरपालिका आएर निवेदन दिन जानकारी गराउनु भयो ।

स्थानीय युवा दिनेश महतोले कतिपयले गाई गौशालाका कर्मचारीहरूलाई रकम दिएर जग्गा खरिद गरेको बताउनु हुँदै कर्मचारीमाथि पनि छानविन हुनु पर्ने बताउनु भयो ।
१९८३ मा दरभंगा महाराजले १५ सय गाई संरक्षण गर्नको लागि २ सय विगहा चरणक्षेत्र छुटयाएर निगौल गाई गौशाला स्थापना गर्नु भएको थियो ।

