जुम्लामा नौ महिनादेखि ५ वर्षमुनिका २६ प्रतिशत बालबालिका रुवेला रोग विरुद्धको खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
त्यसैगरी १० प्रतिशत बालबालिका दादुरा विरुद्ध रोगको खोप लगाउन बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले तथ्याङ्क सार्वजनिक गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल जुम्लामा दादुरा विरुद्ध रोगको खोप लगाउने ९० प्रतिशत र रुवेला खोप लगाउने ७४ प्रतिशत बालबालिका रहेका छन् ।
दादुरा र रुवेला रोग विरुद्धको खोप शतप्रतिशत पु¥याउने दादुरा र रुवेला रोग विरुद्ध खोप लगाउने अभियान ०७६ चैत २ गतेबाट सुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
जुम्लाका एक नगरपालिका र सात गाउँपालिका भित्रका नौ महिनादेखि ५ बर्षमुनिका एक हजार बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने भएको छ । बालमृत्युदर शुन्य बनाउनका लागि दादुरा र रुबेला खोप लगाउने अभियान सुरु गरिएको हो ।
नेपाल सरकारको सन् २०२३ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने नीति अनुसार जुम्लामा पनि आगामी चैत २ गतेदेखि दादुरा र रुवेला विरुद्धको खोप अभियान गरिने भएको हो । दादुरा र रुवेला खोप अभियान सञ्चालन गर्नका लागि जुम्लामा ९४ जना स्वास्थ्यकर्मी तयार गरिएको छ भने २ सय ७१ खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य प्रमुख सापकोटाले बताउनु भयो । त्यसैगरी ५ सय ४२ स्वयम्सेवक भर्ना गरिएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख सापकोटाले जिल्लाका सरोकारवाला निकायसँग अभियानको बारेमा जानकारी दिनुभयो । जुम्लामा चैत्र २ गतेदेखि ५ गतेसम्म पहिलो चरणको अभियान सुरु हुने भएको छ भने चैत ९ गतेदेखि १४ गतेसम्म दोस्रो चरणको दादुरा र रुवेला खोप लगाउने स्वास्थ्य कार्यालयले योजना बनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अभियानलाई सफल पार्न सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले खोपपछि अबाञ्छित घटना हुनसक्ने अवस्थामा चाडै उद्धार गर्ने, पूर्वाधार तयार गर्न पनि सुझाव दिनुभयो । यसैगरी खोप केन्द्रमा आवश्यकता भएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डक्टरको घुम्ती अनुगमन पनि हुने जनाइएको छ ।