२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई फागुन ११ गते गिरफ्तार गरेको छ ।
सामूहिक बलात्कार घटनाका आरोपित तीन जनामध्ये विश्वकर्मालाई प्रहरीले घटना भएको १४ वर्षपछि धरान उपमहानगरपालिका–६ बाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले बताउनुभयो ।
०६२ जेठ ११ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपाली आरोपित विरूद्ध जेठ १३ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए ।
घटना लगत्तै फरार भएका आरोपित विरूद्ध प्रहरीले सामूहिक बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएकोमा जिल्ला तत्कालीन पुनरावेदन अदालतले आरोपित विरूद्ध ०७१ वैशाख १० गते जनही १० वर्ष कैद र २५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको थियो ।
फरार भएका दुई जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका विश्वकर्मालाई प्रहरीले फागुन १४ गते अदालतमा पेश गरी कारागार चलान गरेको छ ।
पीडितको स्वास्थ्य परीक्षण ०६२ जेठ १३ गते कोशी अञ्चल अस्पतालमा गरिएको थियो ।