द्वन्द्व पीडित परिचय पत्र बारे आयोग गम्भीर रहेको सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्टले बताउनु भएको छ । तुलसीपुरमा फागुन १४ आयोजित नवनियुक्त पदाधिकारी तथा आयोगका मुकामलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्ट उक्त कुरा बताउनु भएको हो ।
परिचय पत्रले द्वन्द्व पीडितहरूलाई सहज जीवनयापन गर्न सहज हुन्छ भने परिचय पत्रकालागि छलफल गर्ने बताउनु भयो । परिचय पत्र कसलाई कस्तो दिने भन्ने मापदण्ड निर्धारण गरेपछि मात्र परिचय पत्र दिन सकिने उहाँले बताउनु भयो ।
भट्टले पीडितहरूलाई न्यायको अनुभूति गराउन आयोगले द्रुत गतिमा काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले पीडितलाई न्याय छिटो छरितो दिनकालागि आयोगले काम गरीरहेको बताउद केही नीतिगत समस्या भएकाले सुधार गरेर अगाडि बढ्ने बताउनु भयो ।आयोगलाई पूर्ण विश्वास गर्न आग्रह गर्दै आयोगका प्रदेश मुकामलाई छिट्टै क्रियाशील बनाएर छानवीनलाई प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनु भयो ।
द्वन्द्वपीडितहरूले स्थानीय तहले परिचय पत्र माग्ने गरेको भन्दै आयोगलाई परिचय पत्रको व्यवस्था गर्न माग गरेका थिए । द्वन्द्वपीडित सीता बस्नेतले अनुहार फेरिदैमा न्याय पाँउने आधार नभएको भन्दै आयोगलाई विश्वास गर्न सकिने अवस्था नभएको बताउनु भयो । कार्यक्रममा आयोगले कार्ययोजना, परिपुरण निर्देशिका बनाउनु पर्ने, उजुरी छानवीन कार्यविधि बनाउनु पर्ने सुझाव दिएका थिए ।
