INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिको पहलमा बाल आश्रममा आर्थिक सहयोग

जनकपुरधाम उमनपा–८ ज्ञानकुपस्थित कविर बाल आश्रममा फागुन ६ गते दोहा कतारबाट युवाहरुले पठाएको नगद १६ हजार रुपियाँ र फलफूल इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहको पहलमा सहयोग गरिएको छ । हाल १३ जना बालबालिकाहरू रहेको यस आश्रममा यसअघि पनि इन्सेक जिल्ला प्रतिनिधी सिंहको पहलमा १५ हजार रुपियाँ नगद सहयोग गरिएको थियो ।

photo20200219dhanusha

महोत्तरीको चौलिखा बस्ने युवा दिनेश शर्मा हाल दोहा कतारको मल्टिपलेक्स कम्पनीमा कार्यरत हुनुहुन्छ । उहाँको समन्वयमा त्यहाँ कार्यरत सात जना युवाहरूकोे सहयोगबाट प्राप्त नगद १६ हजार रुपियाँ सहयोग आश्रमलाई इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ प्रमुख वीरबहादुर बुढामगर, मानवअधिकार अधिकृत मनमाया मगर र इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहले संयुक्त रुपमा आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई प्रदान गर्नु भएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश २ प्रमुख वीरबहादुर बुढामगरका अनुसार आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकले आमाबुवाबाट हेला गरि फालिएको बालबालिकाहरुलाई आफ्नो सन्तान सम्झेर पालनपोषण गर्नु सबैभन्दा ठुलो सेवा भएको र उहाँ धन्यवादको पात्र रहनु भएको बताउनु भएको छ । निर्देशक मगरले आलोक बाबाको महान कार्यमा बैदेशिक रोजगारको क्रममा विदेशी भूमिमा अहोरात्र काम गर्दै आश्रममा सहयोग गर्नुहुने सबै युवाहरुलाई कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

इन्सेक प्रदेश २ संयोजक राजु पासवानले आश्रमका बालबालिकाहरुलाई हामी सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ । हामी एक–दुई छोराछोरीको पालनपोषण गर्न दिन रात मेहनत गरि रहनु पर्दछ तर आश्रमका सञ्चालकले एक साथ १३ जना बालबालिकाहरुलाई पालन पोषण गर्नु प्रेरणदायी एवम् महान सेवाको उदाहरण भएको बताउनु भयो ।

मानवअधिकार अधिकृत मनमाया मगरले आफु कविर बाल आश्रममा आउन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले मानव सेवा गर्नुपर्ने पाठ पढ्दै आएको तर प्रत्यक्ष अनुभुति भने आश्रममा आएर मात्र भएको बताउनु भयो ।

आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकले बैदेशिक रोजगारीको सिलशिलामा दोहा कतार पुगेका समाजसेवी मनका धनि श्रमिक भाईहरुले बचत गरेर पठाउनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गर्नु भएको छ । आश्रम सञ्चालक आलोकले विदेशबाट आएको रकम सहयोग गर्नुहुने दिनेश शर्मा र समन्वय गर्नुहुने इन्सेक धनुषा जिल्ला प्रतिनिधी सिंहलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत आश्रमलाई सहयोग गरि रहन आग्रह गनु भएको छ ।

अन्य

भिडियो