चन्द्रपुर नपा–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले बताउनु भएको छ ।

नेपाल सरकारले तोकेको दरबन्दी ६ जना रहेको उक्त विद्यालयमा हाल तीन जना कार्यरत हुनु हुन्छ, जसमध्ये एक जना राहत, एक जना बालविकासमा कार्यरत शिक्षिका र एक जना प्रधानाध्यापकले रहनु भएको छ ।
विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरुको जीवन अन्धकारमय बनिरहेको विद्यालयका प्रधानाध्यापक राजकुमार गुप्ताले बताउनु भएको छ । प्रधानाध्यापक गुप्ताका अनुसार शिक्षक अभावले विद्यालयमा पुरा घण्टी पढाई हुन सकेको छैन । “अभिभावकले आफ्ना बालबालिकालाई घरपायक स्कुल छाडेर टाढा–टाढा पठाउन बाध्य छन् भने कति अभिभावकहरूले त स्कुलनै पठाउँदैनन्”–प्रधानाध्यापक गुप्ताले भन्नु भयो ।
यस्तै समस्याबाट पीडित अभिभावक पल्टन पासवान भन्नु हुन्छ–“मेरो छोरा कृष्णनन्दन पासवान पाँच कक्षामा पढ्दा पढ्दै स्कुल जान बन्द गरीदिएँ, पुरा घण्टी पढाई हुँदैन, स्कुल समय बिताउन मात्र किन पठाउनु ? त्यसैले अब शिक्षक आएभने पठाउँछु नभए पठाउदिँन ।”
स्थानीय ३७ वर्षीया जयमाला चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुनाले बालबालिकाहरु नियमित स्कुल जान पाएका छैनन् र जानेहरु पनि समय बिताउने हिसावले गइरहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेव ठाकुरका अनुसार यस विषयमा जिल्ला शिक्षा समन्वय समिति गौरमा पटक–पटक गरी १५ पटक भन्दा बढि गुनासो राखेको र चन्द्रपुर नगरपालिका र वडा कार्यालयसँग पटक–पटक गरी पाँच पटक भन्दा बढी मौखिक लिखित सूचना तथा ०७६ कात्तिक २७ गते चन्द्रपुर नगरपालिकामा डेलिगेसन जाँदा पनि कुनै किसिमको सुनुवाई नभएको बताउनु भएको छ ।
यस विद्यालयमा हाल २ सय २० जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा डेक्स–बेञ्च जम्मा ३५ सेट मात्र रहेको छ । जबकी २ सय २० जना विद्यार्थीलाई कम्तीमा पनि ७० सेट डेक्स–बेञ्चको आवश्यकता पर्ने स्थानीय बताउँछन् ।
“हाल जम्मा २ सय २० जना भर्ना भएका विद्यार्थी मध्ये नियमित १ सय ६० जना आउने गरेका छन् भने ४० जना अन्य विद्यालयमा जाने गर्दछन् र बाँकी २० जना विद्यालय नै जाँदैनन्”–प्रधानाध्यापक गुप्ताले बताउनु भएको छ ।
चन्द्रपुर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सिंग्देलका अनुसार २०७७ वैशाखको नयाँ सेसन देखि दरबन्दी अनुसार शिक्षक राखिने बताउनु भएको छ ।