जिल्ला कारागार,अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल विनायक नगरपालिका – ६ तोलीका ४३ वर्षीय दिपेन्द्र विक कारागार भित्रै फागुन ६ गते बिहान मृत अवस्थामा फेला परेका छन् ।
कारागारको कोठा नम्बर २ मा फागुन ५ गते राती १५ जनासँगै सुतेका विक विहान ओछ्यानमै मृत भेटिएका कारागारका जेलर छत्रबहादुर माझीले बताउनु भयो ।
बेलुकी खाना खाएर टेलिभिजन हेरेर अन्य कैदीसँगै सुतेका विक बिहान मृत अवस्थामा भेटिएको जेलर माझीको भनाइ छ । मृतक विक बिरामी समेत नभएको कारागार प्रशासनले जानकरी दिएको छ ।
मृतकका आफन्त आएपछि लास उठाएर पोष्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय,अछामका डिएसपी दीपक भारतीले बताउनु भयो ।
कर्तव्य ज्यान मुद्दामा ०६६ भदौ २९ गतेबाट मृतक विकले २० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।