सिमकोट गाउँपालिका–२ स्थित कुम्लिङ ज्यूलास्थित सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी ६ महिनादेखि कार्यालयमा उपस्थित नहँदा सेवाग्राही मर्कामा परेका छन् ।
उक्त सामुदायिक स्वास्थ्य इकाइमा एक÷एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको छ ।
जिल्लामा रुघाखोकीका बिरामीको सङ्ख्या बढि रहेको अवस्थामा सो स्वास्थ्य इकाइमा ०७६ भदौ महिनादेखि स्वास्थ्यकर्मी सम्पर्क विहीन भएका हुन ।
उक्त स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी विहीन भएपछि सिमकोट गाउँपालिका–२ र १ वडाका सात गाउँ र खार्पुनाथ गाउँपालिका–५ का दुई गाउँ स्वास्थ्य सेवाबाट बन्चित भएका छन् ।
६ महिनादेखि सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नबसेपछि सो ठाउँका करिव नौ सय जना स्थानीयबासी मर्कामा परेका छन् । उक्त स्वास्थ्य इकाइमा दैनिक १०÷१२ जनासम्म बिरामी उपचारका लागि जाने गरेकोमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनु परेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका स्थानीयबासी पर्वल बोहराले गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो, ०७२ सालमा स्थापना भएको स्वास्थ्य इकाइमा विद्यार्थी र अभिभावकले देउसी भैलोबाट सङ्कलन भएको एक लाख रुपियाँ पुगेपछि भविश्यमा टाढा जान नपर्ने उद्देश्यकासाथ गाउँका अगुवाको सल्लाह अनुसार सो ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ निर्माण गरिएको थियो ।
घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य इकाइमा जादा सो इकाइमा ताला लगाएको देख्दा दिक्क भएर घर फर्कनु परेको बिरामी जोरसिंह बोहराको गुनासो छ । आफु सो सामुदायिक स्वास्थ्य इकाइमा लगातार आएको पाँच दिन भई सक्यो तर यो ढोका कहिले पनि खुलेन उहाँले गुनासो गर्नु भयो ।
आजभोलि सो ठाउँका बृद्धबृद्धालाई रुघाखोकी र बालबालिकालाई निमोनियाको लक्षण देखिएको बोहराको भनाई छ ।
उनले भने यो स्वास्थ्य इकाइ नखुलेपछि यहाँका स्थानीयबासी खार्पुनाथ स्वास्थ्य चौकीमा जाने गरेका छन् भने केही सेवाग्राही जिल्ला अस्पतालमा जाने गरेको बिरामी रुपसिंह बोहराले जानकारी दिनु भयो ।
तलव नपाएपछि स्वास्थ्य इकाइ बन्द गर्न बाध्य भएको स्वास्थ्यकर्मीको भनाई
सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत तीनै जना स्वास्थ्यकर्मीले गत भदौदेखि तलव नपाएपछि स्वास्थ्य इकाइ कुर्नुको कुनै औचित्य नरहेको सो स्वास्थ्य इकाइका प्रमुख धनजित बोहराले बताउनु भयो ।
६ महिनादेखि तलव नपाएपछि स्वास्थ्य इकाइमा जान छोडेको इकाई प्रमुख बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ६ महिना अघि सिमकोट गाउँपालिकाले नै तलव खुवाउने गरेको थियो तर त्यसपछि भने गाउँपालिकाले केन्द्रबाटै बजेट आएको छैन भनि झारो टार्ने काम गरी रहेको स्वास्थ्यकर्मी बोहराको आरोप छ ।
यस विषयमा गाउँपालिकामा बुझ्दा गाउँपालिकाले पटकपटक केन्द्रीय सरकार मातहतको स्वास्थ्य विभागलाई सो बजेटको बारेमा परिपत्र लेख्दा समेत सुनुवाई नभएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको भनाई छ ।
अधिकृत दर्जीका अनुसार विभागबाट रकम नआए गाउँपालिकाले तलव खुवाउन सक्ने अवस्था छैन ।
