व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत १५ वर्षीया छात्रा निर्जला ढकाल प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट घाइते भएकी छिन् ।
विद्यालय समयमा ०७६ माघ २८ गते प्रअ काफ्लेले गालामा थप्पड हान्दा निर्जलाको कानमा असर परेको उनका हजुरबुबा उदयवंश न्यौपानेले जानकारी दिनुभयो ।
निर्जलाले दिउँसोको खाजा खाने बेलामा आफु एकजना साथीसँग विद्यालयको कम्पाउन्ड बाहिर गएको भन्दै प्रअले कक्षामा आएर गालामा हान्दा कानमा परेको र त्यसपछि कान दुखेको बताउनुभयो ।
प्रअको कुटाइपछि निर्जलाको कानबाट रगत बगेको र माघ २९ गते दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको हजुरबुबा न्यौपानेले जानकारी दिनुभयो ।
आफुले सामान्य कुटपिट गरेको भन्दै आफुबाट गल्ती भएको प्रअ काफ्लेले स्वीकार गर्नुभएको छ । उनले छात्राको कान दुखेको बारेमा आफुलाई जानकारी गराएपछि आफैले उपचारको लागि लिएर आएको बताउनुभयो ।
चितवन घर भएकी निर्जला यही शैक्षिक सत्रबाट गजौंडेमा मामा घरमा बसेर माहिन्द्रि मावि मा अध्ययन गर्दै आउनुभएको छ ।

