INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा बेडको अभाव भएपछि टेबुलमा गराइन्छ सुत्केरी

शिद्दकुमाख गाउँपालिका–२ मा रहेको शिद्धेश्वरी स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका लागि औषधि र बेडको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख सिनियर अहेब मिना डिसीले बर्थिङ्ग सेन्टरमा सुत्केरी हुन आउने महिलाका लागि चाहिने अक्सिटोक्सी नामक सिरिन्ज र नेफिटिन ट्याबलेटको अभाव भएको बताउनु भयो ।
महिला सुत्केरी भएपछि तत्काल लगाउनु पर्ने सिरिन्ज अक्सिटोक्सीको अभाव भएपछि थोरै मात्रामा आफैले खरिद गरि काम चलाएको उहाँले बताउनु भयो । यस्तै गर्भवती भएको महिलालाई अत्याधिक टाउको दुखेमा दिइने नेफिटिन ट्याबलेट पनि अभाव भएको उहाँको भनाई छ ।

विगत एक वर्ष अघि कार्यालय प्रमुख अहेब सरुवा भएर गएपछि स्वास्थ्य चौकी प्रमुख बिहीन बनेको र आफूहरुले नै कार्यालय प्रमुख भएर काम गर्दै आएको उनले जानकारी दिनु भयो । भौगोलिक दृष्टिकोणले दुर्गममा रहेको यस स्वास्थ्य चौकीमा हाल आइरन पनि सय पिस जति मात्रै स्टक रहेको संस्थाले जनाएको छ । म्याद गुज्रिएको आइरन माघ २७ गते नष्ट गरेको बताउँदै सिनियर अहेब मिना डिसीले अहिले थोरै मात्रामा औषधि भएकाले समस्या भएको बताउनु भयो ।

बेडको अभाव भएपछि टेबुलमा गराइन्छ सुत्केरी
सिद्धेश्वरी स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाले सास्ती व्यहोर्नु परेको छ । गर्भवती महिलालाई सुत्केरी गराँउदै आएकी अनमी सर्मिला रोकायले बेडको अभावमा टेबुलमा राखेर सुत्केरी गराउँदा अफठेरो हुने गरेको बताउनुभयो । उहाँले करिब एक वर्षदेखि सुत्केरी बेड नहुँदा दुईवटा टेबुल जोडेर त्यसैमा सुत्केरी बनाउँदा आमा र बच्चाले समस्या भोग्नुका साथै आफुलाई पनि समस्या हुने गरेको बताउनु भयो ।
सुरक्षित प्रसुति गराउन आवश्यक पर्ने सबै औजार र राम्रो बेड चाहिन्छ, उहाँले भन्नुभयो, तर यहाँ बेड नहुँदा व्यथा लागेको महिलालाई टेबुलमा सुताएर सुत्केरी गराउन पर्छ, खुट्टा अड्याउने अर्कै मान्छेको आवश्यकता पर्छ, कार्यालयमा दुई जना नभएको दिनमा हामीलाई समेत हम्मे हम्मे पर्छ ।

गाउँपालिकालाई पटक पटक आग्रह गर्दा कार्यालयसम्म बेड आएको सुनेका छौं, तर अहिलेसम्म यहाँ पठाउनु भएको छैन, उहाँले भन्नुभयो, आफै गएर ताकेता नगर्दासम्म आउने सम्भावना देखिएको छैन् ।
मोबाइल बालेर टाँका लाउँछौं

बिजुली बत्ती नपुगेको यस वडामा रहेको स्वास्थ्य संस्थामा सबै काम सोलारबाट गरिंदै आएको छ । तर बच्चा जन्मिसकेपछि टाँका लगाउने समयमा भने सोलारको बत्तिले नभ्याएपछि स्वास्थ्यकर्मीहरू मोबाइल बालेर टाँका लगाउने गरेको बताउँछन् ।

यहाँका समस्या कति बताउने हो सिनियर अनमी मिना डिसी भन्नुहुन्छ, टाँका लाउँदा अरु बत्तीले भ्याउँदैन, मसिनो रुपले हेर्नुपर्छ, त्यसको लागि ब्याट्री लाइटको आवश्यकता पर्छ, तर हामीसँग त्यो पनि नहुँदा आप्mनो मोबाइल बालेर काम चलाउने गरेका छौं ।

वार्षिक रुपमा ७० देखि ८० जना सुत्केरी हुन आउने यस स्वास्थ्य चौकीमा अहिले मुस्किलले वार्षिक ४० देखी ४५ जना सम्म सुत्केरी हुन आउने गरेका छन् ।
जोखिम मोलेर सुत्केरी हुनु भन्दा बरु केही बढी रकम खर्च गरेर जिल्ला अस्पताल वा निजी स्वास्थ्य क्लिनिकमा जान बाध्य भएको स्वास्थ्य संस्थाले जनायो ।

सुत्केरी सुताउने ठाउँमा संक्रमण हुने सम्भावना
यस स्वास्थ्य संस्थामा सुत्केरी भएपछि महिलालाई सुताउने बेडको समेत अभाव रहेको छ । सुत्केरी बनाउँदा जति समस्या छ त्यतिनै सुत्केरी भएकी महिला र बच्चालाई सुताउने समेत समस्या रहेको छ । सुत्केरी सुताउने कोठामा दुइवटा बेड भएपनि चिसोको समयमा समस्या हुने गरेको छ ।

नवजात शिशु र सुत्केरी आमालाई न्यानो गराउन सफा र न्यानो ठाउँमा राख्नु पर्ने हुन्छ तर यहाँ भने चिसोमा नै रात बिताउनु पर्ने बाध्यता रहेको स्वास्थ्य संस्थाले जनाएको छ । दुर्गम ठाँउबाट स्टेचरमा बोकेर ल्याउने बाध्यता रहेकाले अन्य कपडा ल्याउन नपाएका आमाहरुलाई समस्या हुने गरेको संस्थाले जनाएको छ ।

यता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले भने गाउँपालिकालाई यस बारे कुनै जानकारी नआएको बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूका लागि बेडको अभाव भएकोमा गाउँपालिकाले बेड खरिद गरि सकेको तर ढुवानीको समस्याले समयमै स्वास्थ्य सस्ंथासम्म पु¥याउन नसकेको उहाँले जानकारी दिनुभयो ।

अब एक दुई दिन भित्रै सबै सामान गाउँपलिकाबाट स्वास्थ्य संस्थामा पठाइसक्ने उहाँले बताउनु भयो । स्वास्थ्य संस्थामा औषधि र सिरिन्जको अभाव भएको भने जानकारी नआएकोमा यसो भएको खण्डमा तुरुन्तै पठाएर सिघ्र समस्या समाधान गर्ने बताउनु भयो ।

Resize Resize 2 Resize 3

अन्य

भिडियो