१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत म्याग्दीले माघ २१ गते १२ वर्ष १ महिना कैदको फैसला गरेको छ ।
पीडित बालिकालाई आरोपितले बेनीको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौँमा ०७६ वैशाख ८ गते उजुरी दिएका थिए ।
घटनास्थल बेनी भएकाले उक्त घटनालाई काठमाडौँ प्रहरी परिसरले जिल्लाप्रहरी कार्यालय म्याग्दीमा पठाएको थियोे ।
०७६ वैशाख ३० गते जिल्लाप्रहरी कार्यालय म्याग्दीले सरकारी वकिल मार्फत जिल्ला अदालतमा बलात्कार सम्बन्धी कसुरमा बलामीविरूद्ध मुद्दा दायर गरेको थियो ।
न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजालसले बलामीको कैदसँगै पीडितबालिकालाई २ लाख रुपिया क्षतिपूर्ति भराउनु पर्ने समेत फैसला गरेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताउनु भएको छ ।
मुलुकी अपराध संहिता–२०७४ को दफा २१९ उपदफा ३ (ग) बमोजिम १२ वर्ष १ महिना कैद फैसला गरिएको बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ वैशाख ९ गते वीर अस्पताल काठमाडौँमा गरिएको थियो ।