मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४ जना कैदी/बन्दीले तालिममा सहभागी भएर सीप हासिल गरेका छन् ।
वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार बाँसका मन्दिर, मुढा, र्याक, फोटो फ्रेम, पेन-स्ट्यान्ड र कुर्सी लगायतका सामग्री बनाउने सीप सिकाइएको थियो ।
कैदी नरबहादुर गुरुङले बाँस तथा ढाका बुनाई गर्ने गरेको भए पनि तालिमले अझ सहयोग पुगेको बताए । कारागार प्रमुख गोपालप्रसाद पाण्डेयले कारागार भित्रका कैदी/बन्दीले आफुले जाने अनुसारको उद्यम गरिरहेको बताए । कारागार भित्र उत्पादन भएका विविध सामग्रीहरूलाई घरेलु तथा साना उद्योग विकास समितको समन्वयमा सञ्चालित कोसेली मार्फत घरमा बिक्री वितरण गरिने घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले जनाएको छ । ‘घ’ श्रेणीको जिल्ला कारागार गुल्मीमा अहिले ६६ जना कैदी/बन्दी रहेका छन् ।
