गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसङ्घलाई गुहार्नु भएको छ । सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही माग गर्दा गर्दै पतिसमेत गुमाएकी गङ्गामायाले नेपालमा न्याय नपाएपछि संयुक्त राष्ट्रसङ्घ गुहारेको बताउनुभयो ।

उहाँले २०७६ माघ २१ गते संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रमुख भेलेरिया जुलियन्डलाई भेटेर न्यायका लागि सहयोग माग्नुभएको हो । गङ्गामाया मानव अधिकारकर्मीको टोलीसहित जुलियन्डलाई भेट्न नेपालस्थित राष्ट्रसङ्घको कार्यालयमा पुग्नुभएको थियो । भेटमा जवाफदेहिता निगरानी समितिका चरण प्रसाईले जुलियन्डबाट गङ्गामायालाई सक्दो सहयोग हुने आश्वासन प्राप्त भएको बताउनुभयो ।
‘जुलियन्डले संयुक्त राष्ट्रसङ्घको क्षेत्राधिकारभित्र रहेर न्यायका लागि सक्दो सहयोग गर्ने वचन दिनुभएको छ’ एड्भोकेसी फोरमका कार्यक्रम व्यवस्थापक विकास बस्नेतले भन्नुभयो ‘उहाँहरुबीच एकघण्टा कुराकानी भएको थियो ।’
जुलियन्डलाई भेट्न जाने क्रममा गङ्गामायासंगै अधिवक्ताहरु ओमप्रकाश अर्याल, इन्द्र अर्याल, बद्रिप्रसाद भुसाल, आशिकराम कार्की, तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, द्वन्द्व पीडित साबित्री श्रेष्ठ समेत रहनु भएको थियो ।
कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही प्रक्रिया कहाँ पुग्यो भन्ने जिज्ञासा सहित न्यायमा अन्तर्राष्ट्रियकरण गरिदिन गङ्गामायाले अुनरोध गर्नु भएको सहभागी मध्यका अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । कृष्णप्रसादको २०६१ जेठ २४ गते अपहरणपछि तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप छ । छोराको न्यायका लागि अनशनरत अवस्थामामै गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको पनि ज्यान गएको छ । नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा रहेको छ ।