बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ ।
प्रहरीमाथि आक्रमण गरेको आरोपमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया धना साउदलाई माघ १८ गते बेलुकी नै प्रहरीले गिरफ्तार गरेको छ ।
जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाले साउदको घरमा रहेको छाउगोठ भत्काउन थालेपछि प्रहरी हवल्दार धनबहादुर कैलाको पिठ्युमा साउदले लाठ्ठी प्रहार गरेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताउनु भयो ।
छाउगोठ नभत्काउन भन्दै साउदले गालीगलौज गरी प्रहरी हवल्दार कैलामाथि लाठ्ठी प्रहार गरेको इन्स्पेक्टर अवस्थीको भनाइ छ ।
आरोपित साउदलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर अवस्थीले बताउनु भयो ।
अछाम जिल्लामा जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको सहभागीतामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।
अघिल्लो महिनाको पुस ९ गते यता ४ हजार ५ सय भन्दा बढी छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनु भयो ।