INSEC Online

📅 २०८३ जेष्ठ २२

औषधि र चिकित्सक अभावमा मौसमी रुघाखोकीले मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

हिमपातका कारण मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा औषधिसहित हिडेको स्वास्थ्यकर्मीको टोली अलपत्र भएको छ ।

चिसोले फैलिएको मौसमी रुघाखोकीका बिरामी गाउँगाउँमा बढ्दै गएका छन् । आजभोली मौसमी रुघाखोकीका बिरामी नभएको प्रायः कुनै गाउँ छैन ।

हिमपातका कारण चिसो बढ्दा जिल्लाका ग्रामिण क्षेत्रमा फैलिएको मौसमी फ्लुले बिरामीहरू थला परेका छन् । मौसमी रुघाखोकीले ०७६ पुसदेखि माघ १८ गतेसम्म चंखेली, सर्केगाड र खार्पूनाथ गाउँपालिकामा १४ जनाको मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।

मृत्यु हुनेमा चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की, ७० वर्षीय जसुराम सार्की, सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा, खार्पुनाथ गाउँपालिका– १ लालीका ७० वर्षीय देउधन सार्की, ७९ वर्षीय बृर्षे शाही, ५५ वर्षीया बेलसरा शाही, ७२ वर्षीय पाथे ऐडी, ७० वर्षीय गोपीसिंह बुढा, ६५ वर्षीयकी सजकला बुढा, ६० वर्षीय रणबीर बिष्ट, ६ वर्षीय बालक युबराज शाही र वडा नं ३ की ३५ वर्षीया चन्दा बुढा रहेका छन् ।

सर्केगाडको उनापानीमा पुग्यो औषधि र डाक्टरको टोली तर चंखेलीको मैल्छाममा रुवावासी जारी
विभिन्न ठाउँमा फैलिएको मौसमी रुघाखोकीको नियन्त्रणका लागि जिल्ला अस्पतालका डाक्टर नबिन रोकायाको नेतृत्वमा गएको टोली र सर्केगाड गाउँपालिकाको स्वास्थ्यकर्मीको टाली सर्केगाड गाउँपालिका–३ उनापानीमा पुगेको छ । गाउँमा चेकजाँच गरेका ५ सय जनामा ४ सय ७० जनालाई मौसमी रुघाखोकीको लक्षण भएको र गाउँमा फैलिएको रुघाखोकी सामान्य भएको भन्दै डराउन नपर्ने डाक्टर रोकायाको भनाइ छ ।

तर चंखेली गाउँपालिका–६ मैल्छामको मासिधारामा भने अहिलेसम्म न औषधि पुगेको छ न त स्वास्थ्यकर्मीको टोली नै । भारी हिमपातले प्रदेश सरकारबाट खटिएको चिकित्सकको टोली कर्णाली प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले माघ १२ गते बिहान स्थलमार्गबाट चंखेली गाउँपालिकामा औषधि, ल्याबका उपकरणसहित प्राविधिक टोली पठाएको छ । सो टोली गाउँमा रोग नियन्त्रण गर्न लागि परेपनि हालसम्म सो रोग नियन्त्रणमा आउन नसकेको स्थानीय अखिलबहादुर बुढाको भनाई छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या भएको छ । खार्पुनाथमा मात्रै पुसपछि ६ वर्षको बच्चासहित मौसमी रुघखोकीका कारण आठ जनाको मृत्यु भएको छ  । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्ने गरेको र शरीरका हड्डी पनि दुख्ने गरेको बताउँदै खार्पुनाथ गाउँपालिका–१ लालीका स्थानीय बीरजन शाहीले भने ‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै, पालिकाबाट ल्याएको औषधि एक हप्ता नपुग्दै सकियो अहिले गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ । उनका अनुसार वृद्धवृद्धा र बालबालिका गरी १ नम्बर वडामा कम्तीमा ३ र ४ सय जना बिरामी भएको शाहीले बताउनु भयो ।

स्वास्थ्य संस्थामा सिटामोल छैन तर सबै औषधि भएको स्वास्थ्य शाखाको झुठो दावी
गाउँमा प्रकोप फैलिएर बिरामीको ज्यान जाँदा पनि स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव नभएको दावी गर्छन खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाही । सबै ठाउँमा औषधि सहित स्वास्थ्यकर्मी स्टेनबाई भएको पनि उनको दावी छ । खार्पुनाथमा मृत्यु भएका आठ जना मध्ये एक बच्चा सहित तीन जना बाहेकलाई दम र दीर्घ रोग रहेको संयोजक शाहीको जिकिर छ । हुम्लाका स्थानीयबासी भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरूमा सिटामोल समेत नपाएर ज्यान गुमाउनु परेकोमा दुखेसो पोख्छन । जिल्लामा मौसमी रुघाखोकी फैलिएको खबर आउने बित्तिकै हुम्लाका सबै गाउँपालिकाले पालिकामा उपलब्ध औषधि सबै स्वास्थ्य संस्थामा पठाई आफ्नो मताहतका स्वास्थ्यकर्मीलाई स्टेनबाई रहन निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनु भयो ।

 

अन्य

भिडियो