पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव सञ्चालन गर्न मुसिकोट नगरपालिका–७ बामीस्थित महेन्द्र आर्दश मावि माघ १५ गतेदेखि १० दिनकालागि बन्द गरिएको छ । विद्यालय बन्द हुदाँ उक्त विद्यालयमा अध्ययनरत ९ सय भन्दा बढी विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको छ ।
माघ १५ गतेदेखि सञ्चालन भएको प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सवलाई मध्यनजर गरेर बिद्यालय बन्द गरिएको हो । विद्यालयका प्रध्यानाध्यापक बुद्धिप्रसाद सापकोटाले आफु बन्द गर्ने पक्षमा नभएपनि चौतर्फी दबाव आएपछि बन्द गर्ने निर्णय गरिएको बताउनु भयो ।
माघ र फागुन शैक्षिक सत्रको हिसाबले महत्वपूर्ण समय हो । वार्षिक परीक्षा नजिक भएकाले यो समय स्थानीय बिदाकालागि उपयुक्त होइन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा मुसिकोट नपा–७ का वडा अध्यक्ष प्रकाश काफ्लेले समुदायले आयोजना गरेको महोत्सवसँग विद्यालय पनि जोडिएकाले बन्द गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले विद्यालय सञ्चालन भएपनि महोत्सव स्थल नजिक भएकाले पठन पाठन प्रभावित हुने भएकाले बिदा गर्नुको विकल्प नभएको बताउनु भयो ।
विद्यालयको नजिकै महोत्सव स्थल छनौटनै विद्यालय र विद्यार्थीको हित विपरित छ । बाग्लुङ्ग बडिघाट गाउँपालिका– ५ का सन्दर्भ घिमिरे महेन्द्र आदर्श माविको कक्षा ९ मा सिभिल इन्जिनियरिङ्गमा अध्ययनरत छन् । ‘विद्यालय नजिकै महोत्सव सञ्चालन गर्ने निर्णयले त्यतिकै पनि पढाई प्रभावित बन्थ्यो बन्द गर्ने निर्णय भएपछि घर आएँ ।’ उहाँले भन्नु भयो ।
महोत्सव मूल आयोजक समिति संयोजक तथा मुसिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले सर्व पक्षीय निर्णयले विद्यालय बन्द गरेर महोत्सव सञ्चालन भएको बताउनु भयो । महोत्सव स्थल बामीकै रुद्रावति क्याम्पस र महेन्द्र आदर्श माविका नजिक भन्ने बिषयमा आयोजकबीच पनि विवाद थियो । केही व्यक्तिको दवावमा विद्यालयको पढाई प्रभावित हुने गरि महोत्सव सञ्चालन गरिएको हो ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले माघ १५ गते मात्रै सार्वजनिक विदा दिएको बताउनु भयो । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले माघ १५ गते उद्घाटन गर्नु भएको थियो ।