विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले थलिएकी तातोपानी गाउँपालिका–२ की ६५ वर्षीया पुम्फा दमाईको निशुल्क उचार हुने भएको छ ।
क्यान्सरको पीडा खेपेर घरमै बसेकी पुम्फाको विषयमा समाचार प्रकाशन भएपछि उपचारका लागि राहत जुटेसँगै निशुल्क उपचार हुने भएको हो । घरको गरिबी र विपन्नताले गर्दा क्यान्सरको पीडाले थला पेरेकी पुम्फाको उपचारबाट बञ्चित भएकी थिइन् ।
तीन दिनको अवधिमा आर्थिक धेरै सङ्कलन नभएपनि क्यान्सरको उपचारका लागि भने सहज भएको छ । समाचार प्रकाशनपछि माघ १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क एम्बुलेन्स सेवामार्फत खलंगामा ल्याई सामान्य चेकजाँच गरिएको छ । घरदेखि खलंगासम्म आउने आर्थिक अवस्था नभएकी पुम्फालाई निशुल्क एम्बुलेन्समा ल्याई माघ १५ गते चितवन उपचारका लागि पठाउने व्यवस्थापन पनि प्रतिष्ठानले गरेको छ ।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार पुम्फाको उपचारका लागि माघ १५ गते चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाइने भएको छ । पुम्फाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै चितवनको सरकारी क्यान्सर अस्पताल निशुल्क उपचार हुने भएको छ ।
विपन्न व्यक्तिलाई ठुलो रोग लाग्दा हुने सरकारले व्यहोर्ने नीति अनुसार पुम्फाको उपचारमा सरकारले सक्रियता देखाएको हो । समचार प्रकाशित भईसकेपछि प्रतिष्ठानका डाक्टर मंगल रावल, रजिष्टार विश्वराज काफ्ले लगायतको पहलमा सरकारी पक्षबाटै निशुल्क उपचार हुने पक्का भएको हो ।
क्यान्सर पीडित फुम्फा दमाई र कुरुवा हिक्मत दमाईका लागि जुम्लादेखि नेपालगञ्जसम्म जाने हवाई सेवा पनि प्रतिष्ठानले व्यहोर्ने भएको छ भने प्रतिष्ठानकै समन्वयनमा पुम्फाको चितवनस्थित क्यान्सर अस्पतालमा निशुल्क उपचार हुने भएको छ । प्रतिष्ठानका वरिष्ठ जर्नरल सर्जरी डाक्टर सुर्यमान लिम्बुले यस्ता खालका समस्या बाहिर ल्याएर उपचारका लागि राज्यको ध्यान केन्द्रित भएको बताउनुभयो । नेपाल क्यान्सर अस्पताल काठमाण्डौले पनि आफूले उपचार गर्ने भनेर भनिरहेको थियो । तर पनि अबस्थालाई हेरेर चितवन पठाउन व्यवस्थापन गरिएको हो उनले बताए । माघ १५ गते भिजिट एयरमाफर्त चितवनमा उपचारका लागि पठाउने तयारी भएको छ । यता पुम्फाका नाती कैलाश परियारले भने चितवन लैजान त परै जावस प्रतिष्ठानसम्म ल्याउने क्षमता थिएन सवैको सहयोगमा ल्यान सहज भएको बताउनुभयो ।
१४ हजार आर्थिक सङ्कलन
समाचार प्रकाशनपछि धेरै अस्पतालहरू उपचार गर्ने बताईरहेका छन् भने, देश विदेशबाट सहयोग गर्ने आश्वासन पनि आईरहेका छन् । तर सहयोग भने माघ १४ गते बिहानसम्म भएन । कसरी चितवन पठाउने भन्ने बारे तनाव भईरहेको अबस्थामा जुम्ली सेवा समाज काठमाण्डौले पहिलो सहयोग स्वरुप नौ हजार ४ सय ६० रुपियाँ उपलव्ध गराएको थियो भने त्यसपछि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले व्यक्तिगत रुपमा पाँच हजार सहयोग गर्नुभयो । हालसम्म उठेको १४ हजार रुपियाँले तत्कालका लागि नेपालगञ्जबाट चितवन जानका लागि रकम जुटेको छ ।
जुम्ली सेवा समाज काठमाण्डौँका प्रस्तावक हर्क रावलले काठमाण्डौमा एक दिन भित्र उठाएको साढे नौ हजार र सिडिओ बञ्जाडेले दिएको पाँच हजार राहतले ठुलो सहयोग भएको पुम्फाका भतिजा हिक्मत नेपालीले बताउनुभयो । क्यान्सरको पीडासँग लड्दै मृत्यु कुरिरहेकी फुपुलाई जीवनदान दिन प्रयास गरेकोमा सवैलाई धन्यबाद दिनुभयो । जुम्ली सेवा समाज र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले दिएको १४ हजार ४ सय ६० रुपियाँ माघ १४ गते नै पीडितलाई हस्तान्तरण गरिएको छ ।
सिडिओले गरिन् आर्थिक र भौतिक सहयोग
निशुल्क उपचारका लागि सिफारिस लिन प्रशासनमा पुग्दा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले व्यक्तिगत रुपमा क्यान्सर पीडित पुम्फा दमाईलाई नगद रुपियाँसँगै न्यानो कपडाको समेत राहत प्रदान गर्नुभयो । उपचारका लागि पाँच हजार नगद र दुई न्यानो जकेटका साथै एक कम्बल समेत प्रदान गर्नु भएको हो ।
पीडित महिलाको घाउ देख्दा मन थाम्न सकिएन, सरकारी पक्षबाट हुने सहयोग त छदैँछ । तर व्यक्तिगत रुपमा हुने सहयोग सबैले गर्न उहाँको आग्रह छ । उपचार निशुल्क हुने भएता पनि कुरुवाको खानपान तथा आउने जाने लाग्ने खर्च अझै नजुटेकोले आवश्यक सहयोगका लागि सबैलाई अपिल गरिएको छ । चेतनाकै अभावका कारण ३५ वर्ष माथिका महिलामा यस्ता समस्या देखिने गरेको प्रतिष्ठानका डाक्टर मंगल रावलले बताउनुभयो । उहाँले सामान्य अवस्थामा चेक नगराउँदा पछि ठुलो रुप लिने भएकाले शंका लागेमा बैलैमा चेक गराउन समेत आग्रह गर्नुभयो ।
इन्सेकको पहल
यस विषयमा इन्सेक अनलाइनमा माघ १२ गते आर्थिक अभावले पुम्फाको स्तन क्यान्सर उपचार भएन भन्ने शिर्षकको समाचार प्रकाशन भएको थियो । इन्सेक जिल्ला प्रतिनिधिले यस विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र सहयोग सङ्कलन गर्ने कार्यमा पनि सहयोग गर्नु भएको थियो ।