नारायण नपा–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपियाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट माघ १३ गते उक्त फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
०७६ वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै सोही ठाउँकी ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानेले टाउकोमा हसिया प्रहार गरेका थिए । घाइतेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भएको थियो ।
घटनापछि भागेकी आरोपित न्यौपानेलाई सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले साउन २८ गते गिरफ्तार गरेको थियो । प्रहरीले हिरासतमा राखी अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालयमार्फत अदालतमा पेश भएको जातीय भेदभाव तथा छुवाछूत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपियाँ धरौटीमा छोडेको थियो ।