INSEC Online

📅 २०८३ जेष्ठ २१

हुम्लामा छाउगोठ भत्काउने अभियान सुरु

सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि दुर्गम जिल्ला हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, स्थानीय महिला, प्रहरी र प्रशासन छाउगोठ भत्काउने अभियानमा जुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिकाको‐४ र ५ वडाबाट स्थानीय तह, स्थानीय महिला र प्रहरी प्रशासनको रोहबरमा सात ओटा छाउगोठ भत्काएको जानकारी दिनु भएको छ ।

खार्पुनाथ गाउँपालिका‐४ छिप्रा गाउँ र ५ खर्पेलगाउँमा रहेका सात ओटा छाउगोठलाई भत्काइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो । जिल्ला प्रशासनले सर्केगार्ड, अदानचुली, चंखेली, ताँजाकोट र सिमकोट गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिता राखेको छ ।

यस जिल्लामा २७ ओटा छाउगोठ रहेको जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको लिष्टमा रहेका छन् । छाउगोठको संख्या अन्य गाउँपालिकाबाट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयो । गत माघ ५ गतेदेखि खार्पुनाथ गाउँपालिकाको ४ र ५ का वडाध्यक्ष छाउगोठ भत्काउनमा आफै सक्रिय देखिएका छन् ।

डिएसपी घर्तीमगरले भन्नु भयो ‘अन्य गाउँपालिकाका जनप्रतिनिधिसँग समन्वय भईरहेको छ’ जनप्रतिनिधिसँग छलफल हुदैँछ । अहिले जिल्लाका २७ वटा ठाउँमा छाउगोठको लिष्ट आएको छ । डिएसपी घर्तीमगरको भनाई छ । हुम्ला जिल्लाका ६ वटा स्थानीय तहमा छाउपडी कुप्रथा व्याप्त रहेको छ । यसअघि जिल्लास्थित विभिन्न गैहसरकारी संस्थाको पहलमा छाउपडी मुक्त घोषणा गरेपनि पुनः छाउगोठ निर्माण गरिएका छन् । महिनबारी र सुत्केरी भएको समय महिलालाई घरदेखि अलगै गोठमा राख्ने गरिदै आएको छ ।

महिनाबारी हुदाँ कम्तीमा पाँचदेखि नौ दिन सम्मछाउ बार्ने र सुत्केरी हुँदा कम्तीमा १५ दिन गोठमा बस्ने चलन रहेको छ । पछिल्ला केही समय छाउगोठमा महिलाको अकालमै ज्यान गुमाउन थालेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई छाउगोठ हटाउन कडा निर्देशन दिएको छ । नेपालको मुलुकी अपराध संहितामा

छाउपडीलाई अपराधका रुपमा परिभाषित गर्दै छाउगोठमा बस्न र बस्न पठाउने दुवैलाई तीन महिना कैद र तीन हजार जरिवानाको व्यवस्था गरेको छ । तर हुम्ला जिल्लाका ६ वटा गाउँपालिकामा जनप्रतिनीधिले नै यसको वेवास्ता गरेका छन् । जिल्लामा गैहसरकारी संस्थाहरुले जनचेतना मुलक कार्यक्रम भन्दै लाखाैँ रकम खर्चेर जिल्लामै ¥याली,गोष्ठी,सेमिनार, छलफल गर्ने गरेका छन् ।

 

अन्य

भिडियो