आयुर्वेद औषधालयमा चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् ।
अहिले वैद्य गोर्खबहादुर रावतको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भएपनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वैद्य रावतले बताए ।
औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको उनले बताए । उनले भने–‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।’
उनले भने–‘आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’
वैद्य रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । ‘त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ । तर, पनि विभागले सुनुवाइ गरेको छैन ।’–वैद्य रावतले भने । अहिले कर्णाली प्रदेशले प्रदेश भरी जिल्लामा पुग्ने गरी आयुर्वेद औषधालयका लागि डाक्टरसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ उनले भने अब डाक्टर आउने सम्भावना रहेको छ ।
चालु आर्थिक वर्षमा चार लाख ९० हजार रुपियाँको औषधि खरिद गरेकोले औषधि प्रयाप्त नै छ तर आवश्यक दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या हुने गरेको जनाएको छ ।
पहिलो संघीय सरकार अन्र्तगत कर्णाली अञ्चल आयुर्वेद औषधलायको रुपमा रहेको कार्यालयलाई अहिले कर्णाली प्रदेश अन्र्तगत जनस्वास्थ्य कार्यालय जुम्ला, आयुर्वेद औषधालय शाखाको रुपमा रहेको छ । स्थायी कर्मचारीका रुपमा एक जना बैद्य र एक जना कार्यालय सहयोगी मात्र छन् । तीन जना करार सहयोगी कर्मचारी रहेका छन् ।
औषधालयमा हिउदे सिजनमा दैनिक १५ देखि २० जनासम्म बिरामीहरू उपचार गराउनका लागि आउँछन् भने बर्षा सिजनमा ५० देखि ६० जना विरामी आउने गर्दछन् ।
धेरै जसो अमलपित्त, श्वासप्रश्वास, जण्डिस, स्त्रीरोग, पाइल्स, वाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ ।
