INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउगोठमा बस्न बाध्य पारेको भन्दै कैदको फैसला

छाउगोठमा भाइबुहारीको मृत्युपछि गिरफ्तार भएका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका २५ वर्षीय छत्र राउतलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ ।
न्यायाधीश नविनकुमार जोशीको इजलासले रावतलाई माघ ७ गते एक महिना १५ दिनको कैद फैसला सुनाइएको अदालतका श्रेष्तेदार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो ।
रावतका नाममा भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा प्रहरीले अदातलमा पुस १३ गते मुद्दा दर्ता गरेकामा अदालतले पुस १४ गते १५ हजार रुपियाँ धरौटी तारेखमा रिहा गरेको थियो ।
आरोपित रावत २५ दिन थुनुवामा कटिसकेकोले कैद बस्न बाँकी रहेको २० दिनको ६ हजार नगद रुपियाँ अदालतमा बुझाएर घर गएको अछाम प्रहरीका इन्स्पेक्टर रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
एक वर्षभन्दा कम कैद सजाय तोकिएका मुद्दामा दोषी ठहर भएका व्यक्तिले प्रत्येक दिनको ३ सय रुपैयाँका दरले बुझाएपछि कैद बस्न नपर्ने कानुनी व्यवस्था रहेको श्रेष्तेदार थापाले बताउनुभयो । प्रहरी प्रतिवेदनका आधारमा घरमुली रहेका छत्र रावतलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको थियो ।
अछाम जिल्लामा सन् २००७ यता १४ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको छ ।
मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई ३ हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढाको छाउगोठमा निसास्सिएर मङ्सिर १६ गते मृत्यु भएको थियो ।
१ वर्ष ६ महिना अघि विवाहित पार्वतीका पति रोजगारीको सिलसिलामा भारतमा रहेको र सासू ससुरा नभएका कारण जेठाजुलाई कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

Chhaupadi_Legal Right

अन्य

भिडियो