दशरथचन्द नगरपालिका–४ बाडीलेकका ३० घर दलित परिवारले धारा जडान गरेको शुल्क तिर्न नसक्दा खाने पानीबाट वञ्चित हुँदै आएको गुनासो गरेका छन् ।
स्थानीय किरी भुलले आर्थिक अभावका कारण धारा जडान गरेको शुल्क तिर्न नसक्दा छिमेकीको घरबाट पानी मागेर खानु पर्ने बाध्यता आएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो –‘ गाउँमा करिब १ सय घरधुरी दलित परिवार छन् । बस्तीका घर जिर्ण अवस्थामा छन् । रोजगारी छैन । मालिकको घरमा हलो जोत्दाजोत्दै श्रीमान बितेर गए । मर्नुअघि आफ्नै धाराको पानी खान पाउने इच्छा पुरा नहुने भयो ।’
यहाँका ३ सय दलितमध्ये अधिकांश हलिया, भरिया र मजदुर छन् । यो बस्तीका अधिकांश दलितको जग्गा जमिन र बस्ने राम्रो घर छैन् ।
यो बस्तीका बिपन्न दलितले बिजुलीको मिटर जोड्न नसक्दा टुकी बाल्नु पर्ने बाध्यता छ । खाने पानीको धारा छैन् । जिर्ण बनेका सय घरधुरी दलितहरूको एकै ठाउँमा बसोबास छ । एउटा घर भत्के अर्को घरमाथि खस्ने अवस्थामा छन यहाँका घर ।
चुनावका बेला नेताहरूले एकीकृत नमुना दलित बस्ती बनाउने, बिजुली र खानेपानीको धारा निःशुल्क जडान गर्ने आश्वासन दिए पनि त्यसपछि नेताहरू हराएको दलित बस्तीका अगुवा राजुराम भुलले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘हातमुख जोर्न हिजो हलियाका रूपमा मालिकलाई भोट दियौंँ । मुक्ति हुन्छ कि भनेर त्यसपछि निरन्तर कम्युनिस्ट नेताहरूलाई भोट दियौँ । तर, नेताहरूले पनि हामीलाई जुलुस र आन्दोलनमा मात्रै परिचालन गरे । जिर्ण घर भत्केपछि डम्बर भुल हातमुख जोर्न भारतको पिथौरागढ हिडेका छन् ।’
बाडीलेकको दलित बस्तीका जिर्ण घर भत्केपछि सो बस्तीका मुक्त हलियाहरू दुई वर्षदेखि खुला आकाशमुनी बस्दै आइरहेको मुक्त हलिया पदमराम भुलले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो –‘दलित बस्तीमा शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था नाजुक रहेको छ । यसको समाधानका लागि सरोकारवाला पक्षको ध्यान जान सकेको छैन् ।’
बाडीलेक मुक्त हलियाहरूको गाउँ पनि हो । २०६५ भदौ २१ गते हलिया मुक्त राष्ट्र घोषणा हुँदा यो बस्ती हलिया मुक्त भएको हो । बाडीलेकका हलिायहरूलाई सरकारले मुक्त हलिया परिचय–पत्र दिएको भए पनि अहिले पनि ९० जना मुक्त हलिायहरूले परिचय–पत्र पाउन नसकेको छुट हलियाहरूले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा दशरथ चन्द नगरपालिका –४ को मुक्त हिलाया बस्तीबाट दलित महिला वडा सदस्यका रूपमा निर्वाचित हुनु भएको पार्वती भुलले खानेपानीको धारा नहुँनेलाई धारा जडान गर्न माग गरे पनि वडाको बैठक नै बस्न नसकेको बताउनु भयो ।
दशरथचन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले भने नगरपालिकाले विस्तारै पछाडि परेको वर्ग र समुदायको उत्थानका लागि योजना निर्माण गरिरहेको बताउनु भयो ।
