INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोटका अधिकांश विद्यालयमा खानेपानीको अभाव

जिल्ला भित्र रहेका अधिकांश विद्यालयहरूमा खानेपानीको समस्या रहेको पाइएको छ । खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, महाबै गाउँपालिका लगायतका स्थानीय तह भित्र रहेका धेरैजसो विद्यालयमा खानेपानीको अभाव रहेको पाइएको हो ।
खाँडाचक्र नगरपालिकामा रहेको जनज्योति माध्यामिक विद्यालय पाँखा, लिङ्गासैनी माध्यामिक विद्यालय दशला, सरस्वती माध्यामिक विद्यालय हुपिडाडा इम्री, कालिका माध्यामिक विद्यालय पिलि, शुभकालिका गाउँपालिकामा रहेको महादेव माध्यामिक विद्यालय राराकाटिया, चन्द्रसूर्य माध्यामिक विद्यालय हाउडी, महाबै गाउँपालिकाको देव माध्यामिक विद्यालय ओदा लगायतका विद्यालयहरूमा खानेपानीको समस्या रहेको अभिभावक, शिक्षक र विद्यार्थीहरूको गुनासो रहेको छ ।
जनज्योति माध्यमिक विद्यालय, पाँखाका अभिभावक तथा मानवअधिकार समुहका संयोजक अविसरा अधिकारीले खाँडाचक्र नगरपालिका भित्रका धेरैजसो विद्यालयमा खानेपानीको अभाव रहेको बताउनुभयो । उहाँले नगरपालिकाभित्र खानेपानी तथा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानको लागि स्थानीय सरकार समक्ष मानवअधिकार समुह, शिक्षक, अभिभावक र विद्यार्थीहरूले संयुक्त मागदाबी गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
सरस्वती माध्यामिक विद्यालय, हुपिडाँडा दाहाका विद्यार्थी जानकी शाहीले विद्यालयमा खानेपानी, शौचालय र सेनेटरी प्याडको समेत अभाव रहेको प्रति सम्बन्धित निकायले ध्यान दिनसकेको भन्दै सोही कारणले विद्यार्थीलाई पढाईमा समेत समस्या हुने गरेको बताउनुभयो ।
खानेपानीको समस्या रहेको भएपनि सम्बन्धीत निकायले त्यसप्रति ध्यान दिन नसकेको शिक्षक महासंघ, कालिकोटका अध्यक्ष पंखवहादुर शाहीले बताउनुभयो ।
खानेपानी तथा सरसफाई  डिभिजन कार्यालय, कालिकोटका प्रमुख मंगल शाहीले विद्यालयमा खानेपानीको अभाव भएको प्रति ध्यानाकर्षण भएको बताउँदै समस्याको समाधानका लागि तत्काल पहल चाल्ने बताउनुभयो ।
सो समस्याका बारेमा प्रश्न गर्दा खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिका भित्रका खानेपानीको समस्याको बारेमा नगरपालिका जानकार रहेको बताउँदै समस्या दिर्घकालका लागि समाधान हुने गरी बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्य

भिडियो