थातथलोमा डोजर लगाई घर भत्काइ दिएपछि सिरहा नपा–६ स्थित वसबिट्टामा दलित परिवारहरु त्रिपालमुनी चिसोमा रात बिताउन बाध्य भएका छन् । अत्यधिक चिसोको कारण ज्येष्ठ नागरिक तथा बालबालिकाहरू बिरामी पर्न थालेका छन् ।
सिरहा नपा–१ दामोदर प्रधानाङ्गले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गमा अतिक्रमण गरी घर बनाएको भन्दै पुस ५ गते रामजी महरा, समतोलियादेवी महरा, रामवृक्ष महरा, शिवकुमार महरा, राजकुमार महरा र कुल्चो देवी महराको घर भत्काएको पीडित पक्षको आरोप छ ।
जिल्ला अदालतको ०७५ जेठ २१ गतेको फैसला अनुसार बसबिट्टा–३ क को कित्ता नं. २७१ को सवा ७ धुर जग्गा वादीलाई चलन चलाइ दिनु भन्ने फैसलाको आधारमा प्रहरीको रोहबरमा वैकल्पिक व्यवस्था नगरी घरहरूमा डोजर लगाएर भत्काइएको थियो ।
‘चार पुस्तादेखि ऐलानी भन्दै बस्दै आएको यस ठाउँमा हाम्रा बाजेहरू बस्दा चिहान भएको ठाउँ कसरी व्यक्तिको भयो हामीलाई थाहा छैन ।’–७० वर्षीय रामजी महराले बताउनु भयो ।
परालको ओछयान र त्रिपालको ओतले चिसो छल्न धेरै अप्ठ्यारो भएको तथा बालबालिकाहरू बिरामी पर्न थालेको समतोलिया महराले बताउनु भयो । घटनाको अनुगमन इन्सेकलगायत सङ्घसंस्थाहरूले पुस ११ गते गरेको थियो ।