कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडित पक्षले पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी दिएका छन् ।
पीडित पक्षले यातना दिएको घटनाको अनुसन्धान गरी यातना दिने प्रहरीलाई कारवाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै दिएको उजुरीको बोधार्थ पुस २३ गते इन्सेक नेपालगञ्जमा दिएको छ ।
बसमा यात्रा गर्ने क्रममा पुस १३ गते एक जना महिलाको झोला र आवश्यक कागजात हराएको भन्दै नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको भे १ ख २२३९ नम्बरको बसलाई प्रहरीले कारकादो चोकमा रोकेर यात्रुलाई झार्न लगाई बसका चालक कोहलपुर नपा–६ बस्ने सुवास थारु , कन्डक्टर कोहलपुर नपा–७ बस्ने जंगली थारु र सहचालक दिपक यादवलाई जिल्ला प्रहरी कार्यालय लिएर गएको उजुरीमा उल्लेख छ ।
प्रहरी कार्यालयमा लगेर समान कहाँ छ भन्दै लात्ताले ढाड, खुट्टा, टाउकोमा हानेको, खुट्टा पसार्न लगाई दुबै खुट्टामा बुटले कुल्चदै शरिरका विभिन्न भागमा जथाभावी कुटपिट गर्नुको साथै र खुट्टाको पैतालामा लाठीले कुटपिट गरेको दिपकले बताउनु भयो । कुटपिटका कारण उभिन र हिडँडुल गर्न नसक्दा बोकेर बाहिर भित्र लाने गरेको पीडितका बुवा हिरालाल यादवले बताउनु भयो ।
यादवको नेपालगञ्ज नर्सिङ होममा पुस १७ गते र पुनः पुस २१ गते उपचार गरिएको पीडितका बुवाले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले उजुरी दर्ता भएको र घटनाको विषयमा अनुसन्धान भईरहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीले कुटपिट गर्ने प्रहरी जिल्ला प्रहरी कार्यालयमा काजमा रहेकोले रमाना दिएर सुर्खेत पठाइएको बताउनु भयो । उहाँले यातना दिने प्रहरीको नाम खुलाउनु भएन ।