INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल बार एशोसिएसन महोत्तरीले न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलास बहिष्कार

नेपाल बार एशोसिएसन महोत्तरीले न्यायाधीश श्यामसुन्दर अधिकारीको कार्यक्षमता र न्यायिक विवेकमाथि प्रश्न उठाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । जिल्ला बारको यो निर्णयसँगै जिल्ला अदालतको ३ नम्बर बेन्चको कारबाही रोकिने भएको छ ।

अधिकारीले चालु आवमा १ सय ४५ मुद्दा फर्स्योट गरिसकेका छन् । अब उनको फछ्र्यौट हुन बाँकी ३ सय ९३ मुद्दा कसले र कसरी हेर्ने भन्ने अन्यौल बढेको छ ।

जिल्ला बारले पुस १५ गते नै न्यायाधीश अधिकारीको इजलास बहिष्कार गर्ने निर्णय गरेको भए पनि सोको जानकारी पुस १७ गते मात्र सार्वजनिक भएको हो ।

जिल्ला बारले आवश्यक निकास तथा सहयोगका लागि महोत्तरी जिल्ला अदालत, नेपाल बारको केन्द्र र प्रदेश, न्याय परिषद्, उच्च अदालत जनकपुर र सर्वोच्च अदालतमा समेत पत्र पठाएर सोको जानकारी गराइसकेको जनाएको छ ।

वरिष्ठ अधिवक्ता विजय ठाकुरले न्यायाधीश अधिकारीले गरेका केही मुद्दाको फैसला विवादित पाइएको भन्दै सर्वसाधारणमा न्यायमाथिको विश्वास कायम राख्न कडा निर्णय लिन बाध्य भएको बताउनुभयो ।

जिल्ला बारका अध्यक्ष रामशंकर साहले आफूहरूले माथिल्लो निकायसम्म बारको निर्णय पठाइसकेको भन्दै माथिबाट आउने आदेश मान्ने बताउनुभयो । बारको यस्तो निर्णय आएसँगै न्यायाधीश अधिकारी जिल्ला अदालत महोत्तरीमा मौखिक जानकारी गराएर तत्कालका लागि काठमाडौं जानु भएको छ ।

 

अन्य

भिडियो