अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजिकरणमा अछाम जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरुको एक भेलाबाट मानव अधिकार रक्षक सञ्जालको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
सोमबार सदरमुकाम मंगलसेनमा भएको भेलाले महिला अधिकारकर्मी दुधकला विष्ट संयोजक रहनेगरी नौ सदस्यीय जिल्ला समिति सहमतिका आधारमा गठन गरिएको हो ।
समितिको अन्य सदस्यहरूमा अधिवक्ता कृष्णप्रसाद ढुंगाना, नागरिक समाजका अध्यक्ष शंकरबहादुर रावल, महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष मना अधिकारी, अधिकारकर्मीहरु केशर रावल, मनकला न्यौपाने, पुष्पबहादुर कठायत हुनुहुन्छ ।
समितिमा आवश्यकता अनुसार अन्य सदस्य समेत थपिने छ । मानव अधिकार रक्षक सञ्जाल अछाम समितिको सल्लाहकारमा इन्सेक नेपाल रहेको छ ।
मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिम संयोजक टंकप्रसाद ढुंगानाको विशेष उपस्थितिमा भएको भेलाका सहभागीहरूले मानव अधिकार हनन्का घटनामा एकैसाथ रहेर काम गर्ने समेत साझा धारणा व्यक्त गर्नुभएको छ । यसभन्दा अघि जिल्लामा मानव अधिकार रक्षकको कुनै सञ्जाल रहेको थिएन ।