सरकारले सञ्चालन गरेको पुनस्र्थापना कार्यक्रम प्रभावकारी नभएका कारण आफूहरू पुनः हलिया बस्नु परेको मुक्त हलियाहरूले गुनासो गरेका छन् ।
अजयमेरूका लालबहादुर लुहार अहिले गंगादत्त पन्तको घरमा हलिया बस्दै आएको बताउँनु हुन्छ । वर्षौ पहिले बुवा काशी लुहारले लिएको ५ हजार ऋणको ब्याज तिर्नका लागि आफू हलिया बस्दै आएको लुहारले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘ हलिया नबसे बिहान बेलुकीको छाक टार्न समस्या हुन्छ । साहुसँगको सम्बन्ध पनि विग्रीन्छ । साहुको काम गरेवाफत चाडपर्वका बेला पुरानो लत्ता कपडा तथा अन्न पनि पाइन्छ । हलिया नबसे घरपरिवार पाल्नै मुस्किल छ ।’
लुहारका साहु गंगादत्त पन्तले सरकारले हलिया प्रथाको अत्य गरेकाले आफूले पनि हलो जोत्नै पर्छ भनेर करकाप नगरेको बताउँदै लुहार आफू खुसी हलिया बस्न आएको बताउँनु भयो ।
उहाँले भन्नु भयो – ‘पुरानो ऋण मिनाहा गरिसकेको छु । हलो जोते बाफत उनलाई अन्न र पैसा दिने गरेको छु ।’
सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरे पनि मुक्त महिलाहरूको पुनस्र्थापना नगरेका कारण मुक्त महिलाहरूलाई दैनिकी चलाउन समस्या भएको रमेश लुहारले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘सरकारले हलिया मुक्त ग¥यो । साहुले अन्नबाली दिन छोड्यो । पुनस्र्थापना प्रभावकारी नभएका कराण मुक्त हलियाहरू पुनः हिलाय बस्न बाध्य भएका छन् ।’
हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार, घर मर्मतका लागि १ लाख २५ हजार र जमीन खरीदका लागि २ लाख रुपियाँ दिदै आएको भए पनि उक्त रकम समेत कमिसनको भरमा बाँडफाँट हुने गरेको मुक्त हलियाहरूको आरोप छ ।
जिल्ला मुक्त हलिया पुुनस्र्थापना कार्यदलका निर्वतमान सदस्य लोकेन्द्र विकले कमिसन दिने हलियाले पुनस्र्थापनाका लागि सरकारले दिएको केही रकम प्राप्त गरेको भए पनि अधिकाङ्स हलियाले आर्थिक वर्ष सकिएको चार महिना बितिसक्दा समेत उक्त रकम पाउन नसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘७८ हलिया परिवारले दोस्रो किस्तावापतको रकम अझै पाउन सकेका छैनन् ।’
गत आर्थिक वर्ष २०७५/०७६ को अन्तमा आएर घर निर्माणवाफतको पहिलो किस्ता पाएको भए पनि दोस्रो किस्तावाफतको रकम पाउन नसकेको मुक्त हलिया राधादेवी दमाइले बताउनु भयो ।
घर निर्माणका लागि मुक्त हलियाहरूले पाउनु पर्ने दोस्रो किस्तावाफतको रकम उपलब्ध गराउनका लागि मन्त्रालयसँग सहकार्य गरिरहेको मालपोत कार्यालय,डडेल्धुराका कार्यालय प्रमुख अशोक सार्कीले बताउनु भयो ।
डडेल्धुरा जिल्लामा मात्रै मुक्त हलियाको संख्या २ हजार ६ सय ५१ जना रहेकोमा २ हजारले मात्रै परिचय–पत्र पाएको र १ सय २२ मुक्त हलिया परीवारको अझै पनि लगत सङ्कलन हुन नसकेको मुक्त हलिया समाज महासंघकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘सरकारले हलिया मुक्ती त गर्यो तर पुनस्र्थापनामा खासै ध्यान दिएन । जसका कारण मुक्त हिलाया झन बिचल्लीमा परे ।’