INSEC Online

📅 २०८३ जेष्ठ २१

आयुर्वेद औषधालयमा औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा

कर्णाली आयुर्वेद औषधालय, जुम्लामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् ।
स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफु खाली हात फर्कन बाध्य भएको गुनासो गर्नुभयो । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत् ६ जना कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काम मात्रै गर्ने गरेको जन्मकन्या बताउनुहुन्छ ।
औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकेको बताउनुभयो । आचार्यले औषधालयमा औषधि नहुँदा सेवा समेत ठप्प रहेको बताउनुभयो ।
औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसा सम्बन्धी रोगको उपचार हुँदै आएको भएपनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताउनुभयो ।
औषधालयमा औषधि नपाउँदा आफु लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गर्नुभयो । चिसो महिना सुरू भएपछि औषधालयमा बिरामीको चाप बढेको भएपनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख प्रेम केसीले गत आर्थिक बर्ष देखि हालसम्म औगाधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताउनुभयो । ‘केही दिन भित्रै औषधि खरिद गरि औषधालयलाई दिईने तयारी भएको उहाँले भन्नुभयो ।
जुम्ला सहित मुगु, कालिकोट, डोल्पा जिल्लाबाट दैनिक ५० जना बिरामीले औषधालयबाट सेवा लिँदैं आएको कर्णाली आयुर्वेद औषधालयले जनाएको छ ।

अन्य

भिडियो