INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुलीका ४० प्रतिशत विद्यालय पुनःनिर्माण भएनन्

भूकम्पका कारण पुननिर्माणको सूचिमा रहेका जिल्लाका ५ सय ७५ विद्यालयमध्ये हालसम्म २ सय ३२ ओटा विद्यालयको मात्र निर्माण सम्पन्न भएको छ ।

ती विद्यालय बाहेक १ सय २० विद्यालय निर्माणाधिन छन् । अन्य २ सय २३ विद्यालयको निर्माणको प्रक्रिया नै अगाडि बढेको छैन । यस्तै विद्यालय भवन पुगेका कतिपय विद्यालयमा अझै कक्षाकोठाको अभाव पनि देखिएको छ ।

२०७२ सालको भूकम्पले क्षति भएका सामुदायिक विद्यालयमा पुनःनिर्माणको ६० प्रतिशत काम सकिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) सिन्धुलीका सूचना अधिकारी इन्जिनियर अनिल कुमार यादवले बताउनुभयो ।

तर, प्राधिकरणले नीजि आवास पुनःनिर्माण, सरकारी भवनहरूको तुलनामा शिक्षामा विद्यालयको पुनःनिर्माणको गति सन्तोषजनक भएको जनाएको छ ।

६० प्रतिशत काम गर्दा जिल्लामा जिल्ला आयोजना एकाई (शिक्षा) ले १ सय ७० ओटा भवनको ३ सय ६ कोठा निर्माण सम्पन्न गरेको छ भने ७८ ओटा भवनको काम सुचारू अवस्थामा रहेको छ । आयोजनाले २०७५/०७६ सम्म बनाउने लक्ष्य लिएका २ सय ४८ भवन रहेका थिए ।

३ वर्षको अवधिमा विद्यालय भवन बनाउनका लागि जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) ले ८३ करोड ९० लाख ५८ हजार रुपियाँ खर्च गरिसकेको सूचना अधिकारी यादवले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय आयोजनाले लगानी गरेका भवनको लागत र गैरसरकारी निकायले गरेको लगानीको खर्च उक्त बजेटमा जोडिएको छैन ।

सिन्धुलीमा ती बाहेक गैससको तर्फबाट ३६ ओटा भवनको निर्माण सम्पन्न भइसकेको छ भने १४ ओटा भवन निर्माणाधिन अवस्थामा छन ।

त्यस्तै केन्द्रीय आयोजनामार्फत सिन्धुलीमा १३ ओटा विद्यालय भवनको निर्माण सम्पन्न भएको छ । १३ ओटा निर्माणाधिन छन् भने १५ ओटा विद्यालय निर्माणका लागि टेण्डर भइसकेको छ ।

यस्तै शिक्षा समन्वय एकाई सिन्धुलीले १३ ओटा भवन निर्माणका लागि सहयोग गरेको छ । ती भवन पनि बनिसकेका छन् ।
बाँकी रहेकामध्ये १ सय २७ विद्यालयले शिक्षा समन्वय एकाईबाट भवन मर्मतका लागि प्रति विद्यालय ५ लाख रुपियाँ प्राप्त गरेका छन् ।

यस्ता छन समस्या
निर्माणका लागि प्रक्रिया नै बाँकी रहेका विद्यालयहरूको भवन निर्माणमा माग कम आएको, कतिपय स्थानीय तहले व्यवस्थापन गरिसकेको र कतिपयको विद्यालय भवन बनाउन जग्गा जमीन नभएका कारण समस्या भएको भेटिएको एकाईका यादवले बताउनुभयो ।

उहाँका अनुसार पुनःनिर्माणले गति लिन नसक्नुको अर्को कारण समयमा बजेट नआउनु पनि हो ।

यस्तै विद्यालय निर्माणका सुरूका वर्षमा दक्ष जनशक्तिको अभाव मुख्य रह्यो । अर्को सबै विद्यालयमा बाटो नपुगेका कारण पनि समस्या छ ।

वर्षातको समयमा सबै क्षेत्रमा यातायातको पहुँच नपुग्ने हुदा पनि पुनःनिर्माणमा समस्या भएको हो । अर्को चुनौतीका रूपमा भने पक्की भवन निर्माणका लागि गाउँमा जनशक्ति नभेटिने र गाउँलेले नै काम गर्न पाउनुपर्ने दबाबले पनि पुनःनिर्माणमा समस्या आउने गरेको यादवले बताउनुभयो ।

सिन्धुलीमा बन्दै गरेका विद्यालय भवनमध्ये केही भवनमा गुणस्तरीयताको पनि समस्या रहेको पाइएको छ ।

भूकम्पपछिको पुनःनिर्माणको नियमित अनुगमन गरिरहेको संस्था ट्रान्स्परेन्सी इन्टरनेशनल सिन्धुलीका अधिकृत गङ्गा घिमिरेका अनुसार कतिपय विद्यालयमा भवन निर्माणका सामान्य मापदण्ड पनि पुरा गरिएको छैन । बालुवा सिमेन्ट गिट्टी र रडको मात्रा मिलाइएको छैन ।

यसको उचित अनुगमन समेत नभएको घिमिरेले बताइन् । उनका अनुसार आवश्यकतालाई पहिचान गरी पुनःनिर्माण नगरिँदा कक्षाकोठा नपुग्ने समस्या पनि देखिएको छ ।

अन्य

भिडियो