नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष ५७ वर्षीय धीरबहादुर शाही र पत्नी ५४ वर्षीय पत्नी इला शाहीको अपहरण गरेको परिवारले जनाएको छ ।
ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटास्थित घरबाट पुस ५ गते राति १५ जना भन्दा बढीको समूहमा हतियार सहित आएका सो पार्टीका कार्यकर्ताले गाउँपालिका अध्यक्षका ४६ वर्षीय भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि सँगै अपहरण गरेकोमा आफूलाई भने एक घण्टा टाढा भाँटीचौर पुर्याएर छोडेको हस्तबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष शाहीले गाउँपालिकाको बजेट अनियमितता गरेका कारण सचेत गराउन अपहरण गरेको प्रतिबन्धित नेकपाले बताएको छ ।
अपहरित इला शाही कृष्ण माध्यामिक विद्यालय, लकान्द्रकी प्रधानाध्यापक तथा नेपाल शिक्षक सङ्गठनकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
शाही दम्पतीको सकुशल रिहाईका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले पुस ६ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
समितिका अध्यक्ष गोरख बोगटीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमार्फत शाही दम्पत्तिको खोजीका लागि स्थानीय कार्यकर्ताहरूलाई अनुरोध पनि गरिएको छ ।
इलालाई भने परिवारका अन्य सदस्यसँग सम्पर्क गर्न दिइएको भएपनि धीरबहादुरको अवस्था भने अज्ञात रहेको जनाइएको छ ।
अध्यक्ष दम्पतीको अपहरण भएको भन्ने बारे जानकारी आएको र उद्धारको लागि प्रहरीको टोली खटाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।