INSEC Online

📅 २०८३ जेष्ठ २१

बालकहरू र आमाको पहिचानको अधिकारबाट वञ्चित गरेको भन्दै प्रहरीमा उजुरी

राजविराज नगरपालिका– १२ सिग्यौन दमावतीकी ३० वर्षीया लक्ष्मीदेवी यादवले ३२ वर्षीय पति महिनारायण यादवले नौ वर्षीय र सात वर्षीय छोराहरूको आमाको नाममा अन्य महिलाको नाम राखी मातृत्वको अधिकारबाट वञ्चित गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुस ४ गते उजुरी दिनु भएको छ ।

आफूबाट जन्मिएका दुई छोराको जन्मदर्ता बनाउँदा आमाको नाममा इलामकी मुना खातीको नाम राखेर आरोपितले बालबालिकाहरूका साथै आफ्नो हक समेत खोसेको पीडितले बताउनु भयो ।

उजुरी दिन पीडितसँगै जानु भएका उहाँका बुबा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका शिवराम यादवले संविधानको धारा ३९ को १ बमोजिम प्रत्येक बालबालिकालाई पहिचानसहितको नामकरण र जन्मदर्ताको हक हुने व्यवस्था भएपनि वास्तविक पहिचानबाट वञ्चित गराइएको आरोप लगाउनु भयो ।

इलाममा कार्यरत रहँदा प्रहरी महिनारायणले त्यहीकी मुना खातीसँग दोस्रो विवाह गरेको हुनसक्ने अनुमान लगाउँदै पीडितले छोराहरुको जन्मदर्तामा आफ्नो साटो खातीको नाम देखेर आश्चर्यमा परी उजुरी गर्न आएको बताइन् ।

राजविराज नगरपालिका–१२ को कार्यालयमा जन्मदर्ता बनाउन पुगेका सूचक स्वयम् बुबा महिनारायण भएकाले उहाँले लेखाएको भरमा आमाको नाम इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिएको स्थानीय पञ्जिकाधिकारी तरुणकुमार यादवले बताउनुभयो । घर आएका बेला महिनारायणले ०७४ फागुन २० गते छोराहरूको जन्मदर्ता बनाउनुभएको हो ।

सामाजिक परम्परा अनुसार ०६६ वैशाख २९ गते विवाहिता पीडित हाल माइत विस्थापित छिन् । माइत विस्थापित पीडित अहिले आफूले गर्भमा हुर्काएको, कोखबाट जन्माएको, आफ्नो दुध चुसाएको र काखमा खेलाएको छोराहरूको वास्तविक आमा हुँ भन्ने प्रमाण जुटाउन र न्याय पाउन अस्पताल र प्रहरी कार्यालय धाइरहेको उहाँका मामा वैद्यनाथ यादवले बताउनु भयो ।

अन्य

भिडियो