६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–५ का ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पुस १ गते आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
बलात्कार कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप पाँच वर्षसहित १७ वर्ष कैद सजाय र ४० हजार रुपिपयाँ पीडित बालिकालाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिनुभयो ।
पीडित बालिकालाई सुनारले ०७३ पुस २० गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पुस २१ गते उजुरी परेको थियो ।
प्रहरीले आरोपितलाई पुस २१ गते नै गिरफ्तार गरी जबरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २१ गते नै त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।