स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत असोज महिनामा समायोजनको क्रममा अन्यत्र सरुवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन् ।
तनहुँ कारागारमा एक जना अहेवको दरबन्दी रहेको भएपनि दसैँ अगाडि नै अन्यत्र सरुवा भएपछि अर्काे स्वास्थ्यकर्मी नआउँदा कैदी बन्दी नियमित स्वास्थ्य उपचार सेवाबाट वञ्चित भएको कारगारका नासु एवम् सूचना अधिकारी नारायण अधिकारीले बताउनुभयो ।
स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचार र अहिले चिसो बढेपछि कैदी बन्दीमा विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिन थालेपछि कैदीबन्दीलाई दमौली अस्पतालमा लानुपर्ने बाध्यता रहेको अधिकारीले बताउनुभयो ।
उहाँले रुघाखोकी र भाइरल ज्वरो जस्ता स्वास्थ्य समस्याहरू कैदीबन्दीमा देखिन थालेकोे जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न रोगका कारण दैनिक ४-५ जना कैदीबन्दीलाई स्वास्थ्य परिक्षणको लागि दमौली अस्पतालमा लैजानु पर्ने बाध्यता रहेको छ ।
कैदीबन्दीका नाइके विष्णुहरी घिमिरेले भन्नुभयो–‘यहाँ धेरै प्रकारका औषधि सेवन गर्ने कैदीहरू पनि छन् र स्वास्थ्यकर्मीको अभावमा कारागारमा स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या परेको छ ।’
३५ जनाको क्षमता रहेको तनहुँ कारगारमा अहिले कैद तोकिएका ६९ र कैद नतोकिएका ७८ गरी १ सय ४७ जना कैदी बन्दी रहेका छन् ।
क्षमता भन्दा धेरै भएकाले एक आपसमा टाँसिएर सुत्नु पर्दा कैदीबन्दीमा बढी मात्रामा छालासम्बन्धी रोगहरू देखिने गरेको अधिकारीले बताउनुभयो ।
‘कारागारमा आउने स्वास्थ्यकर्मीको टुङ्गो पनि लागिसकेको छ तर के कारणले आउनमा ढिलाइ भएको हो भन्ने बारेमा जानकारी छैन । तर, अब उनलाई सम्पर्क गरेर जतिसक्दो छिटो कार्यक्षेत्रमा उपस्थित हुनलाई भन्नुपर्यो ।’–तनहुँ स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले भन्नुभयो ।
कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीलाई स्वास्थ्य परीक्षणको लागि लैजान पाउने नासु अधिकारीले बताउनुभयो ।