INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले रातभर पाइपले पिट्दै यातना दिएको पीडित पक्षको आरोप

क्षिरेश्वरनाथ नपा–५ मा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको घटनालाई लिएर धनुषाधाम नपा–५ बस्ने ३४ वर्षीय व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी यातना दिएको पीडितले आरोप लगाएका छन् ।

पीडितले नाम उल्लेख नगर्ने शर्तमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट थुनामुक्त भएपछि आफूलाई बिना कारण गिरफ्तार गरी रातभर यातना दिएको इन्सेक धनुषा जिल्ला प्रतिनिधिलाई जानकारी दिएका छन् ।

मङ्सिर २९ गते राति ८ः१५ बजेतिर खाना खाएर घरैमा सुत्न लागेको बेलामा धनुषाधाम नपा–५ स्थित अस्थायी प्रहरी चौकीबाट मोटरसाइकलमा आएका दुईजना प्रहरीले नाम लिएरै बोलाएर घर बाहिर ल्याएर धनुषाधामस्थित इलाका प्रहरीमा जानुपर्ने भन्दै लगेको पीडितले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आफू जे अवस्थामा थिएँ त्यही अवस्थामा मोटरसाइकलमा बसाएर अस्थायी प्रहरी चौकीमा लगे । अस्थायी प्रहरी चौकीबाट भ्यानमा साढे १० बजेतिर जिल्ला प्रहरी चौकीमा लगेर थुनुवामा राखे ।’

मङ्सिर २९ गते राति करिब साढे २ बजे प्रहरीले थुनाबाट निकालेर सोधपुछ गर्दै दुई तलामाथि लगेर पैतालामा कालो पाइपले लगातार आधा घण्टाभन्दा बढी समयसम्म पिट्दै बम किन राखेको भन्दै यातना दिएको पीडितले आरोप लगाउनुभएको छ ।

गिरफ्तार गरिएका पीडितलाई मङ्सिर ३० गते ५ः३० बजे जिल्ला प्रहरी कार्यालय धनुषाले कागज गराएर अभिभावकलाई जिम्मा लगाएपछि पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई भेट गर्नुभएको थियो । प्रहरीले पैतालामा पाइपले कुटपिट गरेकाले हिँड्न समस्या भएको उहाँले बताउनुभएको छ ।

अन्य

भिडियो