भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा शिक्षक नहुँदा विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुनुको साथै लाखौँ मूल्य बराबरको कम्प्युटर पनि प्रयोगविहीन बनेका छन् ।
विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।
विगतमा विद्यालय आफैँले किनेका र जिल्ला शिक्षा समन्वय एकाईबाट प्राप्त भएका गरी जम्मा २२ थान कम्प्युटर विषयगत शिक्षक नहुँदा दुई वर्षदेखि थन्किएर रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले कम्प्युटरहरू प्रयोगमा नआएर थन्किँदा सबैजसो कम्प्युटरहरु अब ‘कवाड’ मा परिणत हुने चिन्ता लागेको बताउनुभयो ।
शिशु (बाल) कक्षादेखि १२ सम्म अध्ययन/अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीय तहले चासो नलिँदा कम्प्युटर काम नलाग्ने स्थितिमा पुगेको प्रधानाध्यापक यादवको आरोप छ ।
विद्यालयको पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेको भङ्गाहा नपा–४ निवासी अभिभावक गोविन्द खाँ थारुको आरोप छ ।
विद्यालयमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ का विद्यार्थीको सङ्ख्या १ सय ६० रहेको छ ।
नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठले विद्यालयका कक्षा ८ माथिका विद्यार्थीले दैनिकजसो नै कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका बताउनुभयो ।
नगर प्रमुख सञ्जीवकुमार साहले नगरभित्रका विद्यालयहरूका भौतिक पूर्वाधार अभाव रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताउनुभयो ।