INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

मानव अधिकार रक्षाका कार्यक्रम सबै स्थानीय तहसम्म गर्नु पर्नेमा मानव अधिकार रक्षकहरूले जोड दिएका छन् ।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २९ गते आयोजना गरिएको ११ आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ को समापन समारोहमा वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मुलुकमा मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनु भएको छ ।

अध्यक्ष शर्माले आफ्नो कार्यकाल करिब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अध्यक्ष शर्माले भन्नुभयो–‘मानव अधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ । नेपाली जनता सबैमा हामी एक हौँ भन्ने भावना रहुञ्जेल समाज बिखण्डन हुँदैन ।’

मङ्सिर २२ गतेदेखि २९ गतेसम्म सप्ताहव्यापीरूपमा चलेको महाभेलाले मानव अधिकारका क्षेत्रमा आगामी दिनमा योजनाबद्ध तरिकाले अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको आयोजकले जनाएको छ ।

महाभेलाका संयोजक तथा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीताराम लामाले महाभेलाका अवसरमा इन्सेकलगायत २ सय ओटाभन्दा बढी संस्थाहरूको सहकार्यमा ५० जिल्लामा विभिन्न कार्यक्रम गरेको बताउनु भयो ।

उहाँले अर्काे वर्षदेखि देशका ७ सय ५३ ओटै स्थानीयतहसम्म गएर मानव अधिकार रक्षाका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तले सबै मिलेर मानव अधिकार संरक्षण र संबद्र्धनका लागि लाग्नु पर्नेमा जोड दिनुभयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा चुनौती भएको उल्लेख गर्दै आम मानिसको बीचमा मानव अधिकारका सवाल लैजाने भन्ने विषयमा ध्यान दिएर अघि बढ्न सुझाव दिनुभयो ।

महाभेलाका पूर्वसंयोजक शान्तलक्ष्मी श्रेष्ठले नेपाली जनसमुदाय सबैले आफ्नो घर घरमा मानव अधिकार प्रत्याभूति हुने काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

महाभेलामा मानव अधिकारकर्मीले वर्षभर नै मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहने मत जाहेर गरेका थिए । भेलाले २५ बुँदे घोषणापत्र जारी गरिएको थियो ।

photo20191215lalitpur1

photo20191215lalitpur2

photo20191215lalitpur3

photo20191215lalitpur4

अन्य

भिडियो