INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमपातका कारण अर्धवार्षिक परीक्षा रोकियो

दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकामा सुरू भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । दुई दिनसम्म परेको अविरल वर्षा र हिमपातका कारण मङ्सिर २९ गते आइतबारदेखि सुरू भएको परीक्षा रोकिएको हो ।

गाउँपालिकाभरी रहेका २३ ओटा विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिका भरी एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करबीरसिंह बोहराले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकामा झण्डै तीन फुट बढी हिमपात भएको छ । हिमपातका कारण विद्यार्थी विद्यालयसम्म आउन नसक्ने भएपछि परीक्षा रोकिएको हो ।

अपि हिमाल गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ ।

यस्तै अन्य कुनकुन विद्यालयको परीक्षा रोकियो भन्ने बारेमा सम्पर्क हुन सकेको छैन बोहराले भन्नुभयो । रोकिएका विद्यालयहरुमा हिउ कम भएपछि परिक्षा सञ्चालन गर्ने तयारी छ ।

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिंह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको हो ।

यो वर्षकै पहिलो पटक हिउँ परेको हो । हिउँका कारण स्थानीयलाई बाहिर भित्र गर्न नै समस्या परेको छ ।

गाईवस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ । चिसोले बिरामी, सुत्केरी, ज्येष्ठ नागरिक र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायव सुब्बा लक्ष्मणसिंह धामीले बताउनुभयो ।

दुई दिनमै तीन चार फुट हिउँ जमेको कारण यो वर्ष बढी चिसो छ । स्थानीयालाई काम गर्न सकस परेको छ । हिउँले पूरै गाउँ ढाकेको छ । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ ।

यस्तै दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् ।

व्यास गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर क्षेत्रका विद्यालयहरूमा पनि बालबालिका विद्यालय पठाउन समस्या भएको बताइएको छ । हिमपातका कारण त्यस क्षेत्रमा सञ्चार समेत अवरूद्ध भएको छ ।

यसैबीच दार्चुला सदरमुकाम खलङ्गामा झण्डै ४० घण्टापछि फोन सेवा सुचारू भएको छ । हिमपातका कारण अवरूद्ध भएको फोन सेवा सुचारू भएको हो ।

अन्य

भिडियो