INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक समितिकी संयोजक सामुन्ने वडाध्यक्षद्वारा कुटपिट

सवैला नपा–१२ का वडा अध्यक्ष प्रदिप महतोलगायतले सोही वडाकी ४० वर्षीया गुलोकुमारी यादव र जनकपुर उमनपा–१९ का ४५ वर्षीय शिवलाल दासलाई कुटपिट गरेको पीडित शिवलाल दासले आरोप लगाउनुभएको छ ।

पीडित यादवको जग्गा वडा अध्यक्ष प्रदिप महतोले हडपेको भन्दै सबैला नपाको न्यायिक समितिमा दिएको निवेदनमाथि न्यायिक समितिका सभापति समेत रहनुभएकी उपमेयर निलु देवी कापरलगायत न्यायिक समितिका पदाधिकारी, गाउँका करिब २ सयको सङ्ख्यामा रहेका स्थानीयहरू बिच सबैला नपाको रघुनाथपुर बजारस्थित श्री द्वारिका आधारभुत विद्यालय अगाडिको बजारमा भेला भएका थिए ।

सार्वजानिक रूपमा बोलाएको छलफलको क्रममा वडा अध्यक्ष प्रदिप महतोलगायत सोही वडाका सोगला राइन, हदिश कवारी, विकास महतो, माया सरवरियालगायतका समूहले हातगोडाले भुँइमा पछारेर कुटपिट गरेको पीडित यादवले आरोप लगाउनुभएको छ ।

करिव १० वर्ष अगाडि पति र छोरा वैदेशिक रोजगारमै रहेको बेला वडा अध्यक्ष प्रदिप महतोले आफुले ट्याक्टर खरिद गर्ने भनेर पछि फिर्ता गरिदिने गरी आफ्नो नाममा जग्गा पास गर्न आग्रह गरेपछि विश्वास गरेर आफ्नो नाममा रहेको साढे ५ कठ्ठा जग्गा पास गरिदिएको तर पछि छोरीको विवाहमा जग्गा बेच्ने भनेर वडा अध्यक्ष प्रदिप महतोलाई भन्दा छोरीको विवाहमा खर्च गर्न ३ लाख रुपियाँ दिएको पीडितले बताउनुभयो ।

वडा अध्यक्ष प्रदिप महतोले १० वर्ष अगाडि गुलोकुमारी यादवसँग ४ लाख २५ हजार रुपियाँमा जग्गा खरिद गरेको दावी गर्नुभएको छ ।

वडा अध्यक्ष महतोले सार्वजानिक भेलामा गुला कुमारी यादवलाई तत्कालिन समयमा दिएको रुपियाँको ब्याजसहित ३६ लाख रुपियाँ दिए जग्गा फिर्ता गर्ने बताउँदै आउनुभएको स्थानीय ३६ लाख रुपियाँ माग गर्दै आउनुभएको भेलामा सहभागी राजाराम मण्डलले बताउनुभएको छ ।

अन्य

भिडियो