रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा विविध कार्यक्रम गरी ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।
‘दिगो विकासको आधार, सबैका लागि मानवअधिकार’ भन्ने मूल नाराका साथ मुसिकोट नगरपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हरप्लेस, ओरेक लगायतका संस्थाहरूको संयुक्त आयोजनामा मङ्सिर २४ गते मानव अधिकार दिवस मनाइएको हो ।
दिवस मनाउने क्रममा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन पनि गरिएको थियो । सो अवसरमा लैङ्गिक हिंसा र मानव अधिकारको विषयमा खुला वक्तृत्वकला प्रतियोगिता तथा लोकगित प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमले मानव अधिकार र लैङ्गिक हिंसा न्यूनीकरणको विषय एक अर्काका पूरक भएको बताउनुभयो ।
समाजमा शिक्षित व्यक्तिहरूकै घरपरिवारमा समेत हिंसाका घटनाहरू भइरहेको भन्दै नगरप्रमुख गौतमले घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।
मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनारले महिला हिंसा कसरी अन्त्य गर्ने ? भन्नेमा लागि परेको र महिला हिंसाको अन्त्य भएमा मानव अधिकारको संरक्षण हुने बताउनुभयो । यस प्रकारका अभियानलाई सबैले आफ्नो स्थानबाट सफल बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हरप्लेस नेपालका कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक र समग्र मानव अधिकारको प्रवर्धनका लागि स्थानीय सरकारको दायित्व भएकाले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रूकुम शाखाका सभापति रमा गौतमले लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।




